डाईभर्सन बगाउँदा बेनी-जोमसोम सडक अवरुद्ध
जोमसोम : राष्ट्रिय गौरवको निर्माणधिन बेनी—जोमसोम ७६ किमी सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ रुप्से खोलामा सडक डाईभर्सन बाढीले बगाउँदा बेनी—जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ।
बर्खायामको गत श्रावण ५ गतेको रुप्से झरनाको बाढीले साविक रुप्सेमा सडक बगाएको थियो। करिडोर तथा शर्मा गजुरमुखि जेभीले बगाएको उक्त सडकको केही तलबाट अर्को डाईभर्सन सडक निर्माण गरी सडक ट्याक संञ्चालनमा ल्यायो। तर, उक्त डाईभर्सन सडक पनि अविरल वर्षाका कारण भदौ २९ गते सोमबार दिउँसो आएको बाढीले बगायो। त्यसलाई पुन : स्तरोन्नति गर्ने काम पुरा हुन नपाउँदै मंगलबार मध्यराति आएको रुप्से खोलाको बाढीले अन्दाजी २५ मिटर डाईभर्सन सडक बगाएको निर्माण कम्पनीका सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।
यसअघि बेनी—जोमसोम सडकको दर्जनौ स्थानमा बाढी/पहिरो र नदी कटानले सडक संरचना पुरिने र भाँसिएपछि झन्डै डेढ महिनासम्म सिधा सम्पर्क अवरुद्ध भएको थियो। मुस्ताङको थासाङ —४ घोप्टेभीर ,कैकु,घाँसा र लेते खोलामा अविरल वर्षाले त्यससमय सडकमा क्षति पुगेको थियो। म्याग्दीक्षेत्रको अन्नपूर्ण गापाको तातोपानी ,गुईठे ,बेगखोला ,रुप्से र म्याग्दी र मुस्ताङको सिमाना काँभ्रेभीर लगायतका स्थानमा बाढी/पहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो। करिडोर ,निर्माण कम्पनी,स्थानीय ,जनप्रतिनिधि ,प्रशासन र सुरक्षा निकायको अथक प्रयासपछि बेनी-जोमसोम सडक संञ्चालनमा आएको थियो।
बेनी—जोमसोम सिधा यातायात संञ्चालन भएको ३ सातापछि फेरी म्याग्दी रुप्सेमा बाढीले सडक अवरुद्ध भएको आयोजनाका सवईन्जिनीयर किरण घिमिरेले जानकारी दिए। अविरल वर्षाका कारण पटक/पटक आएको बाढी/पहिरोले बेनी-जोमसोम सडक सास्तीमय भएको उनले बताए। गएरातिको रुप्से खोलाको बाढीले पैदलयात्री आउजाउ गर्ने काठको साँघो समेत बगाएकाले पैदलयात्री वारपार गर्न समस्या बनेको उनले जानकारी दिए।
सवईन्जिनीयर घिमिरेले रुप्से खोलामा पानी बहाव उच्च भएकाले सडक सुचारु गर्न अप्ठ्यारो परेको र पानीको बहाव नघटेसम्म काम गर्नसक्ने अवस्था नरहेको उल्लेख गरे।
यस्तै ,म्याग्दीको रुप्से खोलामा डाईभर्सन सडक बगाएपछि मुस्ताङ आउजाउ गर्ने खाद्यान्न, निर्माण समाग्री बोकेका मालवाहक र पेट्रोलियम पदार्थ बोक्ने ट्रक र ट्याक्टर लगायतका सवारीबिच सडकमै अलपत्र परेको छ। सडक सुपरभाईजर शेरचनले मुस्ताङतर्फ आउँदै गरेका २ दर्जन मालवाहक सवारी बाटोमा रोकिएको जानकारी दिए।