रहेनन् पूर्वप्रधानन्यायाधीश सिंह
काठमाडौं/सप्तरी : पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको १ सय १ वर्षको उमेरमा मंगलबार राति काठमाडौंमा निधन भएको छ। पूर्वकानुन र न्यायमन्त्रीसमेत रहेका सिंहलाई निमोनिया भएको थियो। उनको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। नातिले उनलाई दागबत्ती दिएका थिए।
तत्कालीन राजा महेन्द्रले प्रधान न्यायालय ऐन खारेज गरी प्रधानन्यायाधीश हरिप्रसाद प्रधार्न हटाएर २०१३ सालमा सिंहलाई नियुक्त गरेका थिए। पुरानो ऐनसँगै प्रधान न्यायालय पनि खारेज भएपछि राजा महेन्द्रले २०१३ सालमा सर्वोच्च अदालत स्थापना गरेका थिए।
वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद उप्रेतीले सर्वोच्चका पहिलो प्रधानन्यायाधीशका रूपमा सिंहले न्यायालयको नेतृत्व सम्हालेको उल्लेख गरे। त्यसपछि पनि राजा महेन्द्रले विभिन्न संवैधानिक आयोगमा अध्यक्षको जिम्मेवारीसमेत दिए। उनी राणा शासनका बेला २००३ सालमा बडा हाकिम पदबाट जागिरमा प्रवेश गरेका थिए। उनी २०१३ जेठ ८ गते प्रधानन्यायाधीशमा नियुक्त भई २०१६ असार १५ गतेसम्म पदमा बहाल रहे। त्यसअघि अधिवक्ताका रूपमा वकालतसमेत गरेका थिए।
प्रधानन्यायाधीशबाट अवकाशलगत्तै सिंह लोक सेवा आयोगका अध्यक्ष भएका थिए। पञ्चायत व्यवस्था लागू भएपछि सिंहलाई नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागका प्रमुख नियुक्त गरिएको थियो। उक्त विभागले सर्वोच्चका फैसलाउपर परेका निवेदन र उजुरीमा जाँचबुझ गरी सच्याउन राजासमक्ष पेस गर्ने अख्तियारी पाएको थियो।
तत्कालीन राजा वीरेन्द्रले २०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरे। त्यसपछि २०३४ मा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा नियुक्त भए। उनले अख्तियारमा २०३४ पुस १३ गतेदेखि २०४२ वैशाख ३० गतेसम्म कार्यभार सम्हालेका थिए। त्यसलगत्तै राजसभा स्थायी समितिका सभापति बने। उनलाई २०३६ सालको जनमत संग्रह आयोगका अध्यक्ष बनाइएको थियो।
‘उनी राजा महेन्द्रका प्रिय पात्र थिए। तत्कालीन राजाले पञ्चायतकाल टिकाउन धेरै उपयोग गरेका र रुचाइएका पात्र थिए’, कानुन पत्रिकाका सम्पादकसमेत रहेका उप्रेतीले अन्नपूर्णसँग भने, ‘सिंह इतिहास बोकेका व्यक्ति मात्र होइनन्, ऐतिहासिक घटनाक्रमका एक साक्षी पनि हुन्।’
नेपाल बार एसोसिएसनका पूर्वमहासचिव विजयप्रसाद मिश्रले सिंहले नै पहिलो पल्ट नेपाल कानुन पत्रिका प्रकाशन गरेको उल्लेख गरे। सिंह न्यायिक वृत्तका ऐतिहासिक व्यक्तित्व रहेको उनको ठम्याइ छ।
सर्वोच्च अदालतले सिंहको निधनको शोकमा बिहीबार सर्वोच्चसहित सबै अदालत बन्द गर्ने निर्णय गरेको छ। ‘उहाँको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तिलाई गुमाएको छ’, सर्वोच्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपाल बार एसोसिएसनले पनि सिंहको निधनमा दुःख व्यक्त गरेको छ।
सप्तरीको राजगढ गाउँपालिका–२ बरदाही बननिया घर भएका सिंह पछिल्लो समय काठमाडौं बत्तीसपुतलीमा बस्दै आएका थिए। राजविराजका तत्कालीन प्रधानपञ्च गोविन्द सिंहले उनी सादा जीवन उच्च विचारका धनी भएको बताए। भेटघाट र प्रचारभन्दा टाढा बस्थे।
राजाले पत्याएकै कारण उनी २७ वर्षकै उमेरमा २००३ सालदेखि बडाहाकिम पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए। सिंह झापा, भैरहवा र पाल्पामा २०११ सालसम्म बडाहाकिम भए।
सिंहका श्रीमती र एक मात्र छोराको निधनपछि उनी सहयोगीसहित बस्दै आएका थिए। भारतमा विवाहित दुई छोरीतर्फ १÷१ नाति र छोरातर्फ २ नाति छन्। सिंहले पटना विश्वविद्यालयबाट बीएबीएल उत्तीर्ण गरेका थिए।