बसपार्कमा सुरक्षित यात्राको तयारी (फोटो फिचर)
काठमाडौं : लामो दुरीका सार्वजनिक यातायातका साधन संचालनमा आउने भएपछि काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा औषधि छर्केर नि:संक्रमण गरिएको छ। बिहीबार बिहानैदेखि सार्वजनिक बस, टिकट काउन्टर, यात्रु प्रतिक्षालय, बसपार्क क्षेत्रमा कोरोना भाइरस मार्ने औषधि छर्किएर निःसंक्रमण गरिएको हो । यात्रुहरुलाई सुरक्षित राख्नका लागि बसभित्रै पनि औषधि छर्किएको छ । तर यात्रुको चाप भने निकै कम छ।
नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस 'टिकट बुकिङ' खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत 'टिकट बुकिङ' खुला गरेको हो ।
काठमाडौंको गौशाला, कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुका मुख्य सडकबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो। लामो दूरीका सवारी साधनले स्वास्थ्य मापदण्ड पूरा गरेर ५० प्रतिशत मात्र यात्रु बोक्न दिने निर्णय सरकारले गरेको छ।
भाडा भने ५० प्रतिशत बढी लिन पाउने गरी निर्णय भएको छ। यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने गाडीभित्र र ढोकामा स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्नेछ।