विश्वज्ञान सम्मेलन भर्चुअलबाट
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भर्चुअलरुपमा दोस्रो विश्व ज्ञान सम्मेलन गर्ने भएको छ । आगामी अक्टोवर ९, १० र ११ (असोज २३, २४, २५) तीन दिनसम्म चल्ने भर्चुअल सम्मेलनको प्रधानमन्त्री कैपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।
सम्मेलनमा संयुक्त राष्ट्र संघअन्तरर्गतको विश्व खाद्य संगठन, आइएलओलगायत इसिमोड, एसियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने एनआरएनए अध्यक्ष कुमार पन्तलै जानकारी दिए ।
सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक साइप्रस, अमेरिका, बेलायत, चीन, जापान, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्ड, क्यानाडा, भारत, सिंगापुर, श्रीलंका, फ्रान्स, जर्मनी, दक्षिण कोरियाका वैज्ञानिक सहभागी हुने छन् ।
विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघिदैखि विश्व ज्ञान सम्मेलन हुँदै आएकौ छ ।
संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिलगायतका विषयमा सम्मैलन केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माले जानकारी दिए ।
एनआरएन र नेपाल सरकारको सहकार्यमा हुन लागेको यो सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने सम्मेलन आयोजक समितिका सहसंयोजक डा. हरि दाहालले जानकारी दिए । सम्मेलनमा सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विषेश अतिथिको रुपमा उपस्थित हुने छन् ।