भवन नहुँदा दुर्गमका प्रहरीको  त्रिपालमुनि बास

भवन नहुँदा दुर्गमका प्रहरीको  त्रिपालमुनि बास

सुर्खेतः अब दिनदिनै विस्तारै जाडो बढ्ने क्रममा छ। तर न गतिलो भवन छ, न त सुरक्षित बस्ने ठाउँ । हिमाली जिल्ला डोल्पामा कार्यरत प्रहरी भने त्रिपालमुनी रात विताउन बाध्य छन् । नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीको बसाइ नै असुरक्षित छ । दुई महिनादेखि जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत ४४ जना प्रहरी त्रिपाल टाँगेर बसिरहेका छन् ।

न्युन सेवा सुविधामा खटिने दुर्गमका प्रहरीलाई ढुक्कसँग बस्ने बाससमेत छैन । बस्ने भवन नहुँदा आफूहरु असुरक्षित बनेको त्यहाँ कार्यरत प्रहरी बताउँछन् । डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले भने, 'एकसय चारजना प्रहरी कार्यरत छन् । तर भवन नहुँदा आधालाई त्रिपाल टाँगेर बसालेका छौँ ।' कात्तिक महिनादेखि अत्याधिक चिसो बढ्ने डोल्पामा त्रिपालमा राखिएका प्रहरीलाई कसरी राख्ने भन्ने समस्या बल्झिएको हो ।

डोल्पामा मात्र होइन, कर्णालीका अधिकांश स्थानमा रहेका प्रहरी युनिटका आफ्ना भवन छैनन् । मुख्यगरी हिमाली र दुर्गम क्षेत्रमा प्रहरीलाई समस्या छ । भवन अभावमै यहाँ कार्यरत प्रहरी भत्किएका घर, त्रिपाल, खाद्यान्नका गोदाम, विद्यालय र सार्वजनिक भवनमा जोहो गरेर रात विताउन बाध्य छन् । डोल्पामा मात्र जिल्ला प्रहरी कार्यालयसहित २६ वटा प्रहरीका युनिट छन् । तर हाल तीन वटामा मात्रै भवन छन् । ति मध्ये १८ वटा प्रहरी युनिटहरु विद्यालय, स्वास्थ्य चौकी, खाद्यान्नका गोदाम र गाउँपालिकाका भवनमा बसेका छन् ।

सुरक्षित भवन नभएकै कारण माथिल्लो डोल्पा, हुम्ला र मुगुका उच्च भेगमा कार्यरत प्रहरी चिसोका कारण ६ महिना मात्रै बस्छन् । ‘माथिल्लो डोल्पामा त सुविधायुक्त भवन नै छैनन्, हिँउदमा ज्यान जोगाउनै गाह्रो हुन्छ’ डीएसपी रञ्जीतकारले भने, ‘चिसो थेग्ने भवन नहुँदा त्यहाँ प्रहरीको उपस्थिति ६ महिना मात्रै हुन्छ ।' त्यस्तै जाजरकोटको कुशे गाउँपालिका वडा नं. ८ मापर्ने प्रहरीचौकी पैंकको अवस्था पनि दयनीयै छ । वर्षाका कारण प्रहरी बस्ने भवन भत्किएको छ । चौकीका इञ्चार्ज मायालाल बुढाका अनुसार भवन भत्कीएपछि प्रहरीलाई खान, बस्न र सुत्न कठिनाइ भएको हो ।

 दुर्गममा प्रहरीका आफ्ना भवन नहुँदा पुराना र जीर्ण भवनमा बस्न बाध्य छन् । कर्णाली प्रदेशमा शान्ति सुरक्षा कायम गर्नका लागि विभिन्न स्थानमा प्रहरीका एकसय ९४ वटा युनिटहरु छन् । तर हाल जम्मा ६० वटा यूनिटमा रहेका प्रहरीले मात्र आफ्नै भवनमा बस्न पाएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कुल एकसय ९४ वटा प्रहरी यूनिटमध्ये एकसय ३४ वटा स्थानमा प्रहरीका आफ्नै भवन छैनन् । जसमध्ये ७० वटा प्रहरी चौकी, २१ वटा इलाका प्रहरी कार्यालय, आठ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालय हाल भाडाका भवनमा बसिरहेका छन् । त्यस्तै १२ वटा प्रहरीचौकी, चारवटा इलाका प्रहरी कार्यालय, एउटा नगर प्रहरी कार्यालय र एउटा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाताले दिएको भवनमा बसेका छन् । 

आफ्ना भवन नहुँदा सेवा प्रवाहमा पनि समस्या हुने गरेको छ । असुरक्षित भवनकै कारण सुरक्षाकर्मीको मनोबल घट्ने र गोप्य कामहरु गर्दा समस्या हुने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 'भवन भएको खण्डमा सेवा प्रवाह सहज बनाउन सहयोग मिल्छ’ प्रदेश प्रहरी कार्यालयका प्रमुख वसन्त पन्तले भने, ‘आफ्नो भवन नहुँदा अनुसन्धानका गोप्य कामहरु गर्न असहज हुन्छ ।' आफ्नै भवन भएमा प्रहरीको मनोवल उच्च हुने, कार्यदक्षता बढ्ने, घरभाडा जोगिने, सुरक्षा योजना कार्यान्वयनमा सहजता आउने, सेवाग्राहीलाई पनि सहज हुने र घामपानीबाट पनि प्रहरी कर्मचारीहरु सुरक्षित हुने भन्दै प्रदेश प्रहरी कार्यालयले भवनका लागि पहल भइरहेको जनाएको छ । प्रहरी कार्यालयका भवन निर्माणका लागि गत आर्थिक वर्षमा पाँच करोड रुपैयाँ खर्च भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।  
     
                                    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.