कोरोना नियन्त्रणमा सिन्धुलीमा झण्डै नौ करोड खर्च
सिन्धुली : कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सिन्धुलीमा झण्डै ९ करोड रुपैयाँ खर्च भएको पाइएको छ । जिल्लाका दुई नगरपालिका सहित नौंवटै स्थानीय तहमा गरी ८ करोड ८२ लाख ८० हजार ८ सय १७ रुपैयाँ ४१ पैसा खर्च गरेको पाइएको हो ।
स्थानीय तहबाट प्राप्त विवरण अनुसार आरडिटी तथा पीसीआर टेष्ट, उपचार, क्वारेन्टाइन तथा आइसोलेसन निर्माण तथा व्यवस्थापन, राहत वितरण, स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि खरिद, जोखिम भक्ता लगायत विभिन्न शीर्षकमा उक्त रकम खर्च गरिएको हो ।
कमलामाई नगरपालिकाका प्रमुख पशासकीय अधिकृत विशकसेन ढकालका अनुसार गत भदौं ११ गतेसम्ममा नगरपालिकाले २ करोड १४ लाख ४१ हजार ३ सय ३५ रुपैयाँ ३५ पैसा खर्च गरेको छ ।
‘एक करोड ५७ लाख ६१ हजार ७ सय ४८ रुपैयाँ ३८ पैसाको राहत मात्र वितरण गरिएको छ । २४ लाख २६ हजार ८ सय ३९ रुपैयाँ क्वारेन्टिन व्यवस्थापन, नगर क्षेत्रका ५२ जना सुत्केरी महिलालाई १/१ लिटर घ्यू वितरण गर्दा २ लाख रुपैयाँ एक लाख जिल्ला समन्वय समितिलाई सहयोग उपलब्ध गराएका छौं,’ उनले भने ।
कोरोना भाइरस रोकथाममा खटिने सिन्धुली अस्पतालका कर्मचारीलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्तामा खर्च गरेको छ । यस्तै १४ लाख ९३ हजार ३४२ रुपैयाँ स्वास्थ्य सामाग्री खरिद गरिएको ढकालको भनाइ छ । १ लाख ७४ हजार २५२ रुपैयाँ स्वास्थ्य तर्फका कर्मचारीको तलबबाट कट्टा भएको रकम फिर्ता गर्नुका साथै अन्य विभिन्न काममा बाँकी रकम खर्च गरेको पाइएको छ ।
दुधौली नगरपालिकाले एक करोड ६७ लाख १ हजार ४ सय ६७ रुपैंयाँ खर्च गरेको छ । जसमध्य क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा १७ लाख ४१ हजार ७ सय ७१ रुपैयाँ ७५ पैसा,औषधि तथा स्वास्थ्य सुरक्षा सामाग्री व्यवस्थापनका लागि ४७ लाख ४ हजार ५६ रुपैयाँ ७५ पैसा, क्वारेन्टिनमा बस्नेहरुको उपचार व्यवस्था, खाजाखाना तथा यातायात खर्चमा ४५ लाख ८ हजार २ सय ८१ रुपैयाँ ७५ पैसा खर्च गरेको नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिए । यो गत असार मसान्त सम्मको खर्च हो । राउत अनुसार राहत वितरणका लागी ५७ लाख ४७ हजार ३ सय ५६ रुपैयाँ ७५ पैसा खर्च गरिएको छ ।
उता मरिण गाउँपालिकाले पनि गत असार मसान्तसम्ममा ९६ लाख ५० हजार ८ सय ६६ रुपैयाँ खर्च भएको जनाएको छ । गाउँपालिका अध्यक्ष पानिराज बम्जनका अनुसार क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा लागि २ लाख ६० हजार १ सय ३४ रुपैंया, खानामा एक लाख ९३ हजार ९ सय ९७ रुपैयाँ, औषधि तथा स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा १६ लाख ८२ हजार २५८ रुपैयाँ खर्च भएको छ ।
'स्वास्थ्यकर्मीको जोखिम भक्तामा २२ लाख ९४ हजार र राहत वितरणमा ५० लाख ६० हजार ८७ रुपैयाँ खर्चभएको छ,' बम्जनले भने । तिनपाटन गाउँपालिकाले १ करोड २३ लाख ३२ हजार ९ सय ७९ रुपैंया खर्च गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिए । गाउँपालिकाले ४६ लाख २४ हजार बढीको राहत मात्र वितरण गरेको छ । तिनपाटनमा कर्मचारी जोखिम भक्तामा मात्र ४३ लाख ९० हजार ३ सय ४४ रुपैयाँ खर्च गरेको पाइएको छ ।
फिक्कल गाउँपालिकाले कोरोना रोकथाम शीर्षकमा ६८ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । जसमध्य क्वारेन्टिन व्यवस्थापन खानाखाजा सहित १९ लाख १ हजार रुपैंयाँ खर्च भएको गाउँपालिकाले जनाएको हो । पालिकाले माक्स, सेनिटाइजर, सावुन, बेड, औषधि लगायतमा २३ लाख २२ हजार रुपैंयाँ खर्च भएको छ ।
घ्याङलेख गाउँपालिकामा गत असार मसान्तसम्ममा ५९ लाख ६३ हजार ९ सय ९२ रुपैंयाँ खर्चगरिएको प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले उल्लेख गरे । पालिकाले सबै भन्दा बढी कोरोना जोखिम भक्तामा १५ लाख ३४ हजार १ सय २ रुपैंयाँ खर्च गरेको छ ।
हरिहरपुरगढी गाउँपालिकाले ६१ लाख ६९ हजार ६७९ रुपैयाँ, सुनकोसी गाउँपालिकाले १३ लाख ४१ हजार ५४ र गोलन्जोर गाउँपालिकाले ७६ लाख ९४ हजार ६९ रुपैयाँ खर्च गरेको जनाएका छन् । हरिहरपुरगढी र गोलन्जोर गाउँपालिकाले राहत र स्वास्थ्य सुरक्षा भत्तामा सबै भन्दाबढी खर्च गरेका छन् । र : अन्नपूर्ण