बैंकको किस्ता र ब्याजको ताकेता नगर्नू, कोरोनाको खर्च तीन दिनमा सार्वजनिक गर्नू : विप्लव समूह
झापा : नेत्रविक्रम चन्द (विप्लव) समूहले झापाका स्थानीय तहलाई ३ दिनको अल्टिमेटम दिएको छ। विज्ञप्ति मार्फत कोरोना संक्रमणको बेला भएको खर्चको विवरण सार्वजनिक गर्न उक्त अल्टिमेटम दिएको हो।
पार्टीका जिल्ला सेक्रेटरी श्रीजंगको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा कोरोनाका नाममा स्थानीय सरकारले चरम भ्रष्ट्रचार गरेको उल्लेख गरेको छ। विप्लव माओवादीले जिल्लाका निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न पटक पटक दाबी गरको भन्दै त्यसलाई रोक्न पनि माग गरेको छ।
विज्ञप्तिमा निजी शिक्षण संस्थालाई जनप्रतिनिधिले साथ दिएको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिए अनुसार बैंक तथा वित्तीय संस्थाहरुले किस्ता र ब्याजको ताकेता गरेरकाले उक्त कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ। विप्लव समुहले विज्ञप्ति मार्फत मागको बिषयमा गम्भीर बन्न आग्रह गरेको छ। जनप्रतिनिधिले जनताको हितमा काम नगरे जनकारवाही गर्ने चेतावनी समेत दिएको छ।