सुकेटारमा सात महिनापछि नियमित उडान
ताप्लेजुङ : ताप्लेजुङको सुकेटार बिमानस्थलमा सात महिनापछि नियमित उडान सुरु भएको छ । सोमबार सीता एयरले काठमाडौंबाट ६ यात्रुसहित उडान भरेको हो । कोभिड १९ का कारण चैतदेखि सरकारले आन्तरिक उडान बन्द गरेपछि सुकेटार विमानस्थल पनि बन्द थियो । ताप्लेजुङमा रोकिएका विदेशी पर्यटकको उद्धारकालागि बिचमा एकपटक चार्टड उडान भने गरिएको थियो ।
कोरोना संक्रमणको जोमिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाएर नियमित उडान सुरु गरिएको सिता एयरका बिजनेस प्रमुख रिजेस थापाले बताए । उनका अनुसार ठमाडौंबाट उड्ने यात्रुलाई पीसीआर जाँच अनिवार्य गरिएको छ । पीसीआर जाँचका लागि सीता एयरले ५ सय रुपैयाँ छुट समेत गराएको छ । बाँकी खर्च यात्र आफैले बेहोर्नुपर्छ ।
सोमबार ताप्लेजुङ आउने टिकट गरेका १० मध्ये ४ जनालाई कोरोना संक्रमण भएपछि उनीहरु काठमाडौंमै रोकिएका छन् । सरकारले यात्राका लागि पीसीआर जाँच अनिवार्य नभने आफूहरुले सतर्कता अपनाएको थापा बताउँछन् ।
उडान सुरु भएसँगै विमानस्थलको स्वास्थ्य सुरक्षामा समेत विशेष ध्यान दिइएको ताप्लेजुङ नागरिक उड्डयन कार्यालय प्रमुख सुर्यबहादुर खत्रीले बताए । सिता एअरले अब हप्ताको दुई दिन सोमबार र शुक्रबार नियमित काठमाडौं ताप्लेजुङ उडान गर्ने जनाएको छ । नेपाल एयरलाइन्सले पनि शनिबार र बुधबार काठमाडौं–ताप्लेजुङ उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।
लामो समयदेखि बन्द रहेको हवाई र सार्वजनिक यातायात खुलेपछि जिल्लाका होटल र पर्यटन व्यावसायीहरु उत्साहित भएका छन् ।