अक्षरमाथि भ्रष्टाचार
काठमाडौं : लेखकहरू सदाबहार प्रतिपक्षजस्तै हुन्छन्। उनीहरू भ्रष्टहरूलाई देखिसहँदैनन्। तर अक्षरको खेती गर्ने लेखकहरूबाट अक्षरमाथि भ्रष्टाचार हुन्छ कि हुँदैन ? लेखक तथा बुकहिल पब्लिकेसनका प्रकाशक भूपेन्द्र खड्काको विचारमा कुनै लेखकको कमसल लेखनबाट पाठक ठगिएपछि त्यो पनि एक किसिमको भ्रष्टाचार नै हो।
अहिले विभिन्न विषयमा भर्चुअल बहसको लहर चलेको छ। उदाहरण समूह नेपालले आयोजना गरेको दोस्रो दाङ लिटरेचर फेस्टिभलको तीनदिने भर्चुअल बहस कार्यक्रममा उक्त प्रसंग चलेको हो। शुक्रबार अक्षरमाथि भ्रष्टाचार शीर्षकमा अभिव्यक्ति दिँदै खड्काले भने, ‘देशविदेशमा गरेर करिब एक लाखको हाराहारीमा नेपाली लेखक होलान्। एउटा लेखकले अरू लेखकका दसवटा किताब पढे दस हजार किताब सजिलै बिक्नुपर्ने हो। तर लेखक नै अरू लेखकका किताब पढ्दैनन्।’ खड्काको आशय थियो- लेखकहरू अध्ययनबिना कमसल लेखेर पाठकमाथि भ्रष्टाचार गरिरहेका छन्।
अक्षरमाथि भ्रष्टाचार सम्बन्धमा अक्षर क्रिएसन्सका प्रकाशक तथा लेखक अर्चना थापाको अभिव्यक्ति फरक थियो। उनले भनिन्, ‘राज्यले उपलब्ध गराएको शब्दमा लेखकहरू बाँधिन चाहँदैनन्। तर यसको अर्थ यो होइन कि नेपाली शब्दलाई पनि अंगे्रजीकरण गरेर लेख्ने। कुमार नगरकोटीले नेपाली शब्दलाई पनि अंगे्रजीकरण गरेर अक्षरमाथि भ्रष्टाचार गरिरहेका छन्।’
लेखक राजन मुकारुङले नेपाली साहित्यको समग्र लेखन समावेशी नभएको तर्क राख्दै ब्राह्मणवादी लेखन चिन्तनले अक्षरमाथि भ्रष्टाचार भइरहेको विचार राखे। उनले भने, ‘लेखनमा एउटै खाले दर्शनको साँघुरो चिन्तन छ। चेपाङ, मुसहर, महिला, दलित, आदिवासी जनजाति लगायतका विषयमा खै त पढाइ ?’
मुकारुङको विचारमा फराकिलो पाठ्यक्रम नबनाउँदासम्म नेपाली साहित्यका पाठक बढ्ने छैनन्। प्रत्येक वर्ष एसईई गर्ने युवा ५ देखि ६ लाखको हाराहारीमा छन्। तर एसईईभन्दा तल साहित्यको महत्त्व बुझाउने पाठ्यक्रम नै भएन। उनले एउटै जातिको पढाइ, लेखाइ, साहित्य सिर्जनाको विरोधमा पनि २०५६ सालबाट आफूहरूको अगुवाइमा सिर्जनशील अराजकता अभियान सुरु गरिएको स्मरण गरे।
मुकारुङको विचारमा सही थाप्दै अर्चना थापा भन्छिन्, ‘लेखकहरू कुनै–कुनै समुदायप्रति सुरुमै पूर्वाग्राही हुन्छन्। गलत इतिहास पढेका कारण पनि पूर्वाग्राही भावना उब्जिएको हुन सक्छ। त्यसका लागि अध्ययन बढाउनुपर्छ। कुनै समुदायको पहिचानको अपव्याख्या पनि एक किसिमको अक्षरमाथि भ्रष्टाचार नै हो।’
देख्ने गरी भएका भ्रष्टाचार प्रसंगमा बुकहिल पब्लिकेसनका प्रकाशक खड्का भन्छन्, ‘पहिले साझा प्रकाशनबाट पुस्तक नछापिँदासम्म लेखकमा गणनै नहुने अवस्था थियो। तर त्यहाँका महाप्रबन्धकहरूले भ्रष्टाचार गरेर साझालाई उठ्नै नसक्ने गरी डुबाइसके। नेपाल प्रज्ञा–प्रतिष्ठानले आफूले पे्रस स्थापना गरेर पनि ठेक्कामा दिएर भ्रष्टाचार गरिरहेको छ। लेखनमा भइरहेको भ्रष्टाचारको के कुरा गर्नु।’
खड्काले भने, ‘नयाँ लेखकहरूमा राम्रो लेखक बन्ने ध्याउन्न भन्दा पनि बेस्ट सेलर बन्ने हतार छ। त्यसैले गुणस्तरीय किताब आएनन्। यसले पठन–संस्कृति पनि कम भयो।’