उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण, एकको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट एकजनाको मृत्यु भएको छ भने ६४७ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
मन्त्रालयका अनुसार काठमाडौंका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ६६ हजार ६३२ पुग्यो स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।
१८ हजार १४२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार १९३ जना रहेका छन् भने होम आइसोलेसनमा ८९४९ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार १७१ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ११ हजार १५४ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो ७२ प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।
आइसीयूमा २२३ र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ। मंगलबार थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ।