भारतीय सहयोगमा भूकम्पपछिको पूनर्निर्माणबारे वेबसाइट सुरु
काठमाडौँ : भूकम्पपछि शिक्षा क्षेत्रमा भएका पुनर्निर्माण प्रयासहरुबारे वेबसाइट तयार पारिएको छ ।
भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा वेबसाइट उद्घाटन गरेका थिए । भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको ‘डेडिकेटेड वेबसाइट’को भर्चुअल समारोहमार्फत शुभारम्भ गरिएको दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीका लागि उक्त वेबसाइट अंग्रेजी र नेपाली दुवै संस्करणमा उपलब्ध छ । वेबसाइट www.goicbrinepal.com मा प्रवेश गरी चाहेको जानकारी लिन सकिन्छ ।
साथै सो वेबसाइट प्रयोगकर्तामैत्री भएको बताइएको छ । उक्त वेबसाइट केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो । वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद्(सीएसआइआर ) अन्तर्गत रहेको केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुका साथै परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनि हो ।