संक्रमित मेयर भन्छन्, ‘कोरोनालाई हल्का नलिनू’
ललितपुर : बुधबार १० दिनभयो दिन भयो ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ किष्ट अस्पताल भर्ना भएको। उच्च ज्वरो र अक्सिजनको मात्रा ह्वात्तै तल झरेपछि मेयर श्रेष्ठ गत सोमबार किष्टको आइसोलेशनमा भर्ना भएका थिए।
आफनो नगरलाई कोरोनामुक्त बनाउँछु भन्ने अभियानमा लागेका उनी कसरी संक्रमित भएँ भन्ने पत्तो नभएको बताउँछन्। नगरका विभिन्न कार्यक्रममा जाँदा लक्षण बिनाका संक्रमितबाट कोरोना सरेको हुनसक्ने अनुमान उनको छ।
अस्पतालको शैय्याबाट टेलिफोन सम्पर्कमार्फत कुरा गर्दा उनले हाल आफू ठिकठाक भएको बताए। ‘अहिले राम्रो सुधार आएको छ। ज्वोरो छैन, अक्सिजनको लेभल पनि मिल्यो’, श्रेष्ठले भने ‘छिटै निको भएर घर जाने दृढ विश्वास छ।’
मेयर श्रेष्ठ एन्टिवायोटिकको डोज पुरा भएको केही दिनमा पीसीआर गर्ने र घर जाने विश्वासमा छन्। उनी मधुमेहका बिरामी पनि हुन्। श्रेष्ठका अनुसार कोरोना कसरी सरयो पत्तो नभए पनि अघिल्लो शनिबारबाट ज्वरो आएको उनले बताए।
मेडिकल पृष्ठभुमिबाट आएका उनी असहज महसुस हुन थालेपछि घरैमा अक्सिजन परीक्षण गराए। अक्सिजनको मात्रा एकदमै घटेको थियो। शरीर सिथिल भइसकेकोले घरैमा प्राइभेट स्वास्थ्यकर्मी बोलाएर पीसीआर टेस्ट लिएको उनको भनाइ छ। त्यसपछि रिपोर्ट नआउँदै उनी अस्पताल गएका थिए।
‘कोभिड भएर आएको थिइनँ। ब्याक्टेरियल इन्फेक्सन होला जस्तो लागेको थियो’, मेयर श्रेष्ठले भने। विभिन्न अस्पतालमा कोरोना संक्रमितले डाक्टर र नर्सले वेवास्ता गरेको, बिरामीको छेउमा नआएको गुनासो गर्दैआएका छन्। तर किष्टमा डाक्टर, नर्स पुरै पीपीई सेट लगाएर नजिकै आएर कुरागर्ने तथा परामर्श गर्ने गरेको उनले बताए।
‘डाक्टर नजिक आउँदैनन भन्ने मैले पनि सुनेको हो। तर यहाँ त्यस्तो छैन’, उनले भने, ‘डाक्टर दैनिक एक पटक र नर्स बिहान पाँच बजे आएर परीक्षण गर्नुहुन्छ।’ अस्पताल भर्ना भएपछि बोल्न मन नलाग्ने र गाह्रो हुने गरेको समस्या सुनाए। अहिले पनि धेरै बोल्दा थकित महसुस हुने उनको भनाइ छ।
अस्पताल बसाईंमा खाना खाएपनि निद्रा नलागेको उनले बताए। तालिका बनाएर अस्पतालको क्यान्टिनमा खाना उपलब्ध गराउँदैआएको छ। श्रेष्ठका श्रीमतीलाई पनि कोरोना पोजेटिभ देखिएपछि किष्टमा भर्ना भएकी छन्। तर उनलाई भाइरल डाइरीया बढी दुःख दिएको बताए। छोरीको रिपोर्ट नेगेटिभ आएको उनले बताउ।
उनकी ८० वर्षकी आमालाई भने कुनै लक्षण देखिएको छैन। फागुनदेखी नगर सुरक्षित बनाउने अभियानमा लागेको उनको दाबी छ।
संक्रमण पुष्टि हुनुअघि नगरबासीको पीसीआर परीक्षणका काम, स्यानिटाइजर उत्पादन, सम्पूर्ण वडा स्यानिटाइज गर्ने काम, संक्रमितले कोही नभएको जस्तो गरेपछि घरैमा गएर ढाडस दिने, मनोवल बढाउने, स्वास्थ्यका टिमसँग होमआइसोलेसनमा बसेकालाई दैनिक दुई पटक सम्पर्क गर्ने, स्वास्थ्यकर्मीको मनोबल बढाउन उनीहरुसँगै बसेर तालिममा सहभागी हुने लगायतका काममा व्यस्त रहेका थिए।
घर पुगेपछि दैनिक नुहाएरमात्र भित्र छिर्ने, स्यानिटाइज र मास्कको नियमित प्रयोग तथा स्वास्थ्यका सबै मापदण्ड अपनाए पनि संक्रमित भएको उनले सुनाए।
कोरोनालाई हल्का रुपमा नलिनू
श्रेष्ठ कोरोनालाई हल्का रुपमा नलिन सुझाव दिन्छन्। ‘कोभिड भाइरल मात्रै हो भनेर बुझ्नु गलत हुन्छ’, उनले भने, ‘सामाजिक दुरी, मास्क लगाउने, नियमित हात धुने काम गर्नुहोस्।’
आफू सचेत नभए कोरोना संक्रमणले विकराल समस्या लिन सक्ने र अस्पतालमा भर्ना गर्ने ठाउँको समस्या हुने उनी सुनाउछन्।
‘दीर्घ रोगीलाई झनै समस्या हुन्छ। त्यसैले सचेत भएर लाग्नुपर्छ’, उनी सुझाव दिँदै भन्छन्, ‘ हल्का नलिनुहाेस्।’