सम्भावित 'बलि' प्रकरणको अनुसन्धान

सम्भावित 'बलि' प्रकरणको अनुसन्धान

विराटनगर : एक किशोरीलाई भारतको सिम्राहीसम्म पुर्‍याएको सम्भावित ‘बलि’प्रकरणको अनुसन्धान प्रहरीले गम्भीर रुपमा अघि बढाएको छ। सुनसरी रामधुनी–५ झुम्काकी १७ वर्षीया किशोरीलाई ‘बलि’दिन लगिएको हुनसक्ने धेरै आधार भेटिएपछि गम्भीर रुपमा प्रहरीले आफ्नो अनुसन्धान सम्भावित ‘बलि’ प्रकरणतर्फ सोझ्याएको हो। 

नेपाल प्रहरीले घटनाको अनुसन्धानका लागि भारतीय प्रहरीसँग सहयोग मागेको छ। घटनास्थल नेपाल र भारत दुवै देशमा रहेका कारण सहयोगका लागि भारतीय पक्षसँग विशेष अनुरोध गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। बुधबार जोगवनी पुगेका एसपी खड्काले भारत अररिया जिल्लाका एसपी हृदयकान्तसँग भेट गर्दै घटना गम्भीर रहेको जानकारी गराएर अनुसन्धानका लागि विशेष मद्धत गर्न आग्रह गरेका हुन्। 

एसपी खड्कासँगको भेटमा हृदयकान्तले गम्भीर खालको घटना रहेको भन्दै सहयोग गर्ने प्रतिवद्धता जनाएको स्रोतले बतायो। ‘यति जटिल घटनाको अनुसन्धान गर्दै एउटा निस्कर्षमा पुग्नु पर्छ’, हृदयकान्तलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘जुनसुकै हालतमा पनि अपराधी उम्कन दिन हुँदैन र त्यही हिसाबको सहयोग नेपाल प्रहरीलाई हुनेछ।’ हृदयकान्तले सहरसा अररियासँग सीमा जोडिएको जिल्ला भएकाले नेपाल प्रहरीले भनेअनुसार आवश्यकता परेका बेला जुनसुकै सहयोग गर्ने आश्वासन दिएका छन्। 

किशोरीलाई मोरङको लेटाङ —३ की २२ वर्षीया मनिका ढकाल, सप्तरी विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल र तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल मिलेर आइतबार भारतको सिम्राही पुर्‍याएको खुलेको एसपी खड्काले बताए। उनलाई विराटनगर महानगरपालिका–१७ को इस्लामपुर नाका हुँदै भारत कटाइएको थियो। 

घटनाका मुख्य योजनाकार सुमित रहेको बताउँदै प्रहरीले केही समयदेखि फेसबुकमा साथी बनेर नजिकिएका उनले मनिकालाई भारतमा पूजा गर्न लैजाने किशोरी खोज्न लगाएको पाइएको जनाएको छ। झुम्कामा डेरा गरेर बस्ने क्रममा चिनजान भएकी किशोरीलाई सुमितले सिकाएअनुसार विराटनगरमा पूजामा जाऔं भन्दै मनिकाले फकाएर ल्याएको एसपी खड्काले बताए। 

उनका अनुसार पूजामा बस्दा पाँच हजार रुपैयाँ पाइने लोभ देखाएर किशोरीलाई आइतबार बिहान विराटनगर ल्याउँदै भारत कटाएको खुलेको छ। भारतको जोगवनी पुर्‍याएपछि उनीहरुले ट्याम्पोमा २० किलोमिटर टाढा फारबिसगन्ज पुर्‍याए। त्यहाँबाट बसमा राखेर ४८ किलोमिटर दूरीको सिम्राहीसम्म लगेको खुलेको छ। 

विराटनगर भन्दै भारत पुर्‍याएपछि आफूलाई बेच्न लगेको हुनसक्ने आशंका गरेर युवती चलाखीपूर्ण हिसाबले फुत्किएकी थिइन्। उनीहरुलाई छक्याउँदै सिम्राहीबाट उनी फारबिसगन्ज आउने बस चढिन्। कुद्दै गरेको बस रोकेर ती तीनै जना त्यसमै चढे। बाटाभरि केही हुँदैन, जानुपर्छ भन्दै फकाए पनि नमानेकी उनी बसबाट हतार–हतार हाम्फालेर फारविसगन्ज झरेपछि रिजर्भको टेम्पो चढेर तुरुन्तै जोगबनी आइन्। 

जोगवनीसम्म उनीहरुले अर्को ट्याम्पोमा पछ्याएका थिए। आइतबार साँझ इस्लामपुर आइपुगेपछि उनलाई प्रहरी र साना हातहरू नामक संस्थाका सीमामा परिचालित स्वयंसेवकले उद्धार गरे। मनिकालाई पनि नियन्त्रणमा लिए। किशोरीको उद्धार भइसकेपछि भागेका दुई युवालाई भने प्रहरीले भोलिपल्ट पक्राउ गर्न सक्यो। 

सहरसामा बसेर निर्माण सम्बन्धी ठेक्कापट्टाको काम गर्ने भिनाजु रणधीर मण्डलले पूजाका लागि भन्दै ५.२ फिट उचाइ भएकी, अविवाहित र पूजाका समयमा रजस्वला नभएकी किशोरी खोज्न आफूलाई लगाएको सुमितले प्रहरीलाई बताएका छन्।  भिनाजु रणधीर र उनका भाइ वीरेन्द्र मण्डलले आफूलाई किशोरी ल्याइदिए १२ लाख रुपैयाँ दिने आश्वासन दिएको सुमितले बताएको जानकारी प्रहरी स्रोतले दिएको छ। 

सिम्राही पुर्‍याएपछि भिनाजु र उनका भाइको जिम्मा लगाउने तयारी गरिएको भए पनि किशोरी भाग्न सफल भएपछि योजना विफल भएको देखिएको प्रहरीले जनाएको छ। सुमितले किशोरी खोजिदिए वापत तीन-चार लाख दिने भनेपछि पैसाको अभाव रहेकाले आफू पनि यस काममा लागेको मनिकाले प्रहरीलाई बताएकी छन्। 

प्रहरी स्रोतले पूजाको विश्लेषण गर्दै मानिसको ‘बलि’चढाउने अन्धविश्वास व्याप्त रहेको भारतमा यति ठूलो रकम ‘डिल’गरेर किशोरीलाई त्यही प्रयोजनका लागि लगिएको हुन सक्ने बतायो। मनिकाले बाटामा नाप्ने टेप किनेर उचाइसमेत लिएको, पूजामा भन्दै नेपाली किशोरी लगिएको, पूजामा बस्दा कालो कपडा लगाउनु पर्ने र डराउन नहुने भनेर सिकाएकोदेखि लिएर अविवाहित तथा रजस्वला नभएको समयकी किशोरीको खोजी गरेको आदि कुराको अध्ययन गर्दा ‘बलि’नै दिन लगिएको हुन सक्ने प्रहरी स्रोतको दाबी छ। 

भारतको बिहारमा निश्चित उचाइ र हुलिया भएकी किशोरी खोजेर ‘बलि’ दिने कुसंस्कार रहेको बताइएको छ। विभिन्न कोणबाट अनुसन्धान थालिएको बताउँदै एसपी खड्काले विभिन्न आधार केलाउँदै सम्भावित ‘बलि’ को अनुमान गरेर ठूलो रकमको ‘डिल’ गरेर किशोरीलाई भारत पुर्‍याउन खोजिएको जानकारी दिए। ‘तीन जना मिलेर घटना गराएको देखिन्छ। सुमितको भनाइलाई आधार मान्दा भिनाजु भारतमा छन्’, उनले भने, ‘भिनाजु र उनका भाइलाई किशोरी पुर्‍याउन गएको देखिन्छ। त्यही भएर भारतीय प्रहरीसँग पनि घटना अनुसन्धानका लागि समन्यव भइरहेको छ।’

प्रहरी स्रोतले भारतीय प्रहरीसँग समन्वय गर्दै भिनाजु र उनका भाइ सहरसामा भए-नभएको पत्ता लगाएर, यदि रहेछन् भने नेपाल झिकाउँदै अनुसन्धानको थप प्रक्रिया अघि बढाइने जनाएको छ। सुमितले सिम्राही पुर्‍याए पनि भिनाजु र उनका भाइको फोन नलागेका कारण किशोरीलाई जिम्मा लगाउन नसकिएको प्रहरीलाई बताएका छन्। 

एसपी खड्काले घटनामा अरुको पनि संलग्नता रहेको हुन सक्ने देखिएपछि पक्राउ परेकाको ‘कनेक्सन’ खोतल्ने काम भइरहेको बताए। प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ। 

सुमित ल्याब टेक्निसियन 

किशोरी भारत लैजानेमध्ये सुमित अस्पतालको प्रयोगशालामा काम गर्ने ल्याब टेक्निसियन (प्राविधिक) रहेको प्रहरीले पत्ता लगाएको छ। प्रहरीका अनुसार केही समय विराटनगरको नोबेल शिक्षण अस्पतालको प्रयोगशालामा काम गरेका उनी लगभग दुई वर्षदेखि काठमाडौं गएर एउटा अस्पतालको ल्याबमा काम गरिरहेको खुलेको छ। काठमाडौंको अस्पतालको नाम भने खुलाइएको छैन। 

प्रयोगशालामा काम गर्ने सुमित केही समयअघि मात्रै काठमाडौंबाट विराटनगर आएको पाइएको प्रहरीले जनाएको छ। भिनाजुले भनेअनुसार खोजी गरेर किशोरीलाई भारत पुर्‍याउन उनी विराटनगर आएर यो काममा लागेको हुन सक्ने प्रहरीको अनुमान छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.