ड्रागन फ्रुटको खेती

ड्रागन फ्रुटको खेती

उदयपुर : यस्ता पनि नेता भेटिन्छन् जो भाषण कम काम बढी गर्छन्। यसको ज्वलन्त उदाहरण हुन् उदयपुरको चौदण्डिगढी नगरपालिका ४ काहुलेलीडोलकी अरुणादेवी राई। कृषि क्रान्तिका ठुलो स्वर चर्काउने र व्यवहारमा नउतार्ने नेताका लागि उनी नमुना हुन्। 

उनको बारीमा पुग्ने नेता मात्र हैनन् जो कोही एकपटक दङ्ग नै पर्छन्। मेहनत र भरपुर इच्छाशक्ति बोकेकी अरुणाको एक बिघा बारी यतिबेला ड्रागनफ्रुट र अन्य फलफुल खेतीले भरिपूर्ण छ। राजनीतिक यात्रासँगै कृषि क्रान्तिमा होमिएकी उनको खेती अरुभन्दा भिन्न छ। जिल्लाका अधिकांश किसानले  खेतबारीमा तरकारी, धान, फलफुल लगाइरहेका बेलामा उनले भिन्नै प्रकृतिको खेती गर्न सुरु गरेकी छिन्। उदयपुरवासीका लागि अरुणाको खेती नयाँ खेती हो। विभिन्न ठाउँको अध्ययन र भ्रमणबाट ड्रागनफ्रुट खेती जिल्लाका लागि नयाँ र मनग्ये आम्दानी हुने देखिएपछि उनले व्यवसायिकरुपमा यो खेती सुरु गरेकी हुन्। 

विगत लामो समयसम्म खम्वुवान राष्ट्रिय मुक्तिमोर्चामा आवद्ध भइ राजनीति गर्दै आएकी अरुणा २०६० सालमा नेकपा माओवादीसँगको पार्टी एकिरणपछि पनि उत्तिकै सकृय राजनीतिमा थिइन्। उनको त्यो सकृयताले नै नेकपा एमालेसँगको समिश्रणमा अहिले प्रदेश नम्बर १ कमिटीको सदस्य पदमा छिन्। 

भाषणबाट मात्र कृषिक्रान्ति नहुने भएपछि आफैंले व्यवसायिक कृषि सुरु गरेको उनी बताउँछिन्। भन्छिन्, ‘सधैं कृषिक्रान्तिको भाषण गर्यो, आफू चाँही केही नगर्ने, जनतालाई कति ढाट्नु त्यसैले विश्वास जित्न पनि सुरुवात गरेको हुँ। धेरैको मनमा देखावटी कृषि खेती गरेर अनुदान झ्वाम्म पार्न सुरु गरेको बुझाइ छ',  उनी भन्छिन्, ‘बोल्नेको मुख टाल्न सक्दिनँ तर यति भन्छु, गलत सोच राख्नेका लागि यही पेसा गर्न प्रेरणा जगाउँछु।' 

चारवर्ष पहिले काठमाडौंको गोरखा मिलिनियमबाट दुई सय पचास रुपैयाँ गोटाका बिरुवा किनेर उनले यो व्यवसाय सुरु गरेको बताउँछिन्। गाउँमै पहिलो पटक मानव स्वास्थ्यका लागि उपयोगी भिटामिन, खनिज, मिनरल लगायतका औषधि गुण रहेको ड्रागन फ्रुटको खेती लगाएर यो वर्षबाट उनले व्यवसायिक उत्पादन सुरु गरेकी हुन्। सबै खर्च कटाएर त्यसको दाना र बिरुवाबाट झण्डै पाँच लाख आम्दानी हात पार्न सफल भएको उनी बताउँछिन्। 

एक विगाहा जमिनमा एभोकाडो, अङ्गुर, लिच्ची, अम्बा, आँप लगायतका फलफूलसँगै यो खेती पनि उनले सुरु गरेकी हुन्। विरुवा उत्पादनका लागि आफैंले नर्सरीसमेत तयार पारेकी छिन्। यसरी उत्पादन गरेको बिरुवा दुई सय रुपैयाँ प्रतिगोटा बिक्री गर्ने गरेकी छन्।  

ड्रागन फ्रुटले एकपटक लगाएपछि लगातार १५ वर्षसम्म फल दिने गर्दछ। यसको खेती गर्न त्यति असहज नभएको उनी बताउँछिन्। बजारमा ड्रागन फ्रुटको अत्याधिक माग रहे पनि उत्पादन गर्न नसिएको उनको भनाइ छ। यसरी उत्पादन गरेको ड्रागन फ्रुट घरमै प्रति केजी सात सय रुपैयाँमा बिक्री हुने गरेको उनले बताइन्। 

ड्रागन फ्रुट फलफूल मध्यकै सबैभन्दा ठूलो फल भएको ड्रागन फ्रुट विज्ञ डाक्टर जगन्नाथ राईले बताए। उनले सरकारी स्तरबाटै अभियानकोरुपमा विस्तार गरिए रोजगारीका लागि विदेश पलायन भएका युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन सकिने बताए। समुद्र सतहदेखि चार हजार पाँचसय फिटको उचाइसम्मको हावापानी र जस्तोसुकै माटोमा पनि सहजै फलाउन सकिने उनले बताए। कम सिंचाईमा लगाउन सकिने भएकाले जमिनमा सहजरुपले यो खेती लगाउन सकिन्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमासमेत यसको अत्याधिक माग रहेकाले सरकारले यो खेती गर्नेलाई प्रोत्साहन गर्नु पर्ने राईको सुझाव छ।

ड्रागन फ्रुट तीन किसिमका हुन्छन्। गुणस्तरका हिसावले रातो बोक्रा र त्यसभित्र सेतो गुदिमा तीलको दानाजस्तो भएको खान मिल्ने सबैभन्दा राम्रो हुने राईले बताए। रातो बोक्रा र भित्रको गुदी पनि रातै भएको दोश्रो र पहेलो बोक्रा र भित्र कालो गुदी भएको तेश्रो श्रेणीको ड्रागन भएको उनी बताउँछन्। उनकाअनुसार नेपालमा पाइने प्रायः सबै पहिलो गुणस्तरका छन्। 

क्याल्सियम, कार्वोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज र विभिन्न १३ किसिमका भिटामिन यसमा पाइन्छ। यो क्यान्सरविरुद्धको प्रतिरोधात्मक क्षमता वृद्धिका लागि अति उपयोगि रहेको राई बताउँछन्। खासगरी थाइल्याण्ड, मलेसिया, भियतनामा र इजरायलमा धेरै लोकप्रिय भए पनि नेपाली बजारमा भने यो नयाँ खेती हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.