पोखरीमा तीन आमा-छोरीको शव
मोतीपुर : मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरस्थित माइतीमा बस्दै आएकी थिइन्, ३५ वर्षीया सीता कटवाल (अधिकारी)। सीता अरू दिनझैं आइतबार बिहान ७ बजेतिर कान्छी छोरीसँग माछालाई चराबाट जोगाउन पोखरी रुँघ्न गइन्। ठूली छोरी आमा र बहिनीलाई खाना लिएर बिहान १० बजेतिर त्यतै गइन्। भाइबुहारी मञ्जु कटवालले खानासँगै दिउँसोको खाजामा गहुँको रोटी पठाएकी थिइन्। तर, त्यस दिन त्यही पोखरीले तीन आमा–छोरीलाई निलिदियो !
सीता र उनका दुई छोरी आइतबार राति त्यही पोखरीमा मृत अवस्थामा भेटिए। प्रहरीले तीनै जनाको शव राति १०बजे पोखरीबाट निकाल्यो। डोको, नाम्लो, हँसिया र रोटी भने पोखरीकै डिलमा भेटिएको स्थानीयको भनाइ छ। शव निकाल्दा कान्छी छोरीको शरीरमा कपडा थिएन।जेठीले भित्री वस्त्र लगाएको र आमाको शव पूरै कपडा लगाएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।
घटनाको प्रकृति हेर्दा पोखरीमा माछा रुँघ्ने क्रममा गर्मी भएपछि छोरीहरू पौडी खेल्न पसेको र निस्किन नसकेपछि उद्धार गर्न गएकी आमाको छोरीहरूसँगै डुबेर मृत्यु भएको हुन सक्ने ढकालको अनुमान छ।
तीनै जना पोखरीबाट नफर्किएपछि कान्छो भाइ प्रेमकी श्रीमती मञ्जुले ५ वर्षकी छोरी र छिमेकी १३ वर्षीया बालिकालाई हेर्न पठाएकी रहिछन्। तर, कतै नदेखेपछि दुवै जना फर्किए। त्यसपछि छरछिमेकीलाई लिएर मञ्जु पोखरीतिर गइन्। ‘जाँदा डोको, नाम्लो र हँसिया पोखरीको डिलमा थियो’, उनले भनिन्, ‘खाजाका लागि भनेर बिहान पठाएको रोटी पनि डोकोले छोपेको अवस्थामा भेटियो। भान्जीहरूको कपडा पनि पोखरीकै डिलमा थियो। अमाजू दिदी र भान्जीहरू भने भेट्टिनु भएन।’
उनले त्यो कुरा घर फर्किएर परिवारलाई जानकारी दिइन्। त्यसपछि साथीहरूलाई लिएर पोखरी गएका अर्का भाइ रुद्रले टर्च लाइट बालेर खोज्ने क्रममा पोखरीको पूर्वतर्फ डुबेर मृत्यु भएको अवस्थामा दिदीलाई भेट्टाए। भान्जीहरू पनि दिदीको शव भेटिएभन्दा पाँच मिटरजति पश्चिमतर्फ पानीभित्र मृत अवस्थामा भेटिएका थिए। ‘परिवारमा ठूलो वज्रपात परेको छ’, कान्छो भाइ प्रेमले भने, ‘एउटै कोखबाट जन्मिएकी दिदी र दुवै भान्जीलाई गुमाउनु पर्दा हामी सम्हालिन सकेका छैनौं।’
सीताका भाइ रुद्र कटुवालले चार महिनाअघि मात्रै आठ फिट गहिरो पोखरी बनाएर माछा पाल्न थालेका रहेछन्। कोरोना महामारीका कारण विद्यालय बन्द रहेकाले १४ वर्षीया पवित्र र ९ वर्षीया कृतिकाले आमासँगै पोखरी गएर चरा धपाउन सघाउँथे। कृतिका ईश्वर आधारभूत विद्यालयमा कक्षा २ र पवित्र जनता माविमा कक्षा ६ मा पढ्थे। उनीहरू बिहान पोखरी रुँघ्न गएपछि साँझ गाईबाख्राका लागि घाँसको भारी बोकेर फर्कन्थे।
माइली छोरी र नातिनीहरू हराएको र घर नफर्किएको सुनेपछि अचेत भएकी ६१ वर्षीया दीर्घमाया कटवालको होस खुलेको छैन। होस नफर्किएर स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई उपचारका लागि मंगलबार काठमाडौं लगिएको जेठो छोरो रुद्रले बताए। ‘अचेत भएर मान्छेनै चिन्न छाडेका कारण काठमाडौं लगिएको हो’, उनले भने, ‘हामीले आमालाई मृत्युको जानकारी दिएका छैनौं। दिदी र भान्जीहरू हराएको मात्रै भनेका छौं।’
पोखरीबाट पश्चिमतर्फ माछा रुँघ्न रुद्रले तीन कोठाको एउटा घर पनि बनाउँदै थिए। फाउन्डेसन उठाएर पिलर राख्ने काम हुँदै थियो। ‘दिदी र भान्जीहरूलाई निलेको पोखरी हाम्रा लागि सधैं बल्झिरहने घाउ बनिदियो’, रुद्रले भने, ‘पोखरीको डिलमा जान र त्यहाँको घाँस काट्नसमेत डराउने दिदी र भान्जीहरूको शव पोखरीभित्र भेट्दा सबै अचम्ममा परेका छौँ।’
स्थानीय अर्जुन माझीले नयाँ पोखरी बनाइएको ठाउँमा पहिले पनि पुरानो पोखरी रहेको र त्यहाँ धेरैजनाको डुबेर मृत्यु भइसकेको बताए। ‘अहिलेसम्म १० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्’, उनले भने, ‘माछा पाल्न नयाँ स्वरूप दिएर बनाएको पोखरीले फेरि एकै परिवारका तीन सदस्यको ज्यान लियो।’
घटनास्थलबाट चार सय मिटर उत्तरमा बाब वनष्खण्डी शिवालय मन्दिर छ। उनका अनुसार स्थानीय बासिन्दा ठूलो दैविक शक्ति रहेको सम्झिएर मन्दिरमा विशेष पूजापाठ गर्छन्। मन्दिरलाई मानभाउ नपुग्दा ठूलाठूला विनाश र यस्तै मानवीय क्षति हुने विश्वास रहेकाले सबै सचेत हुने गरेको वडाध्यक्ष वैजनाथ विश्वासले बताए।
प्रहरीले रोटी परीक्षणका लागि नलगेको र घाँस काट्न लगिएका सामान घटनास्थलबाट नउठाएको पाइएको छ। प्रहरी निरीक्षक ढकालले घटनाको अनुसन्धान अघि बढाइएको बताए। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थप कुरा खुल्ने उनले सुनाए। उनका अनुसार खाजाका लागि लगिएका कारण रोटीको परीक्षण गर्न आवश्यक देखिएन।