ताप्लेजुङमा अन्धाधुन्ध बाम्फोक प्रहार : तीन जना घाइते
ताप्लेजुङ : सिरिजंघा गाउँपालिका–८ याम्फुदिनमा एक युवाको बाम्फोक प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन । बुधबार राति २२ वर्षिय लाक्पा भोटेले आफ्नै ठूलीआमा ६० फुटि भोटे, फुटिकका छोराहरु ३६ वर्षिय पासाङ भोटे र १८ वर्षका छिरिङ भोटेलाई बाम्फोक हानेर गम्भीर घाइते भएको वडाध्यक्ष टसी लामाले बताए ।
वडाध्यक्ष लामाका अनुसार फुटिको टाउको र गर्धन, पासाङको टाउको र हात तथा छिरिङको टाउको र गर्धनमा चोट लागेको छ । सबै जनासँगै टिभी हेरेर बसेको र सुतेपछि घटना भएको उनको भनाई छ ।
घाइतेहरुको याम्फुदिन स्वास्थ्य स्वाथ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ । खराब मौसमका कारण थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान समस्या भएको लामाले बताए ।
घटनापछि फरार रहेका लाक्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए । घटनाको अनुसन्धानसमेत सुरु गरिएको श्रेष्ठले बताए । अभियुक्तको चौकी याम्फुदिनबाट असईको कमाण्डमा गएको टोलीले खोजी गरिरहेको छ । घटनास्थल सदरमुकाम फुङलिङबाट दुई दिन पैदल दूरीमा पर्छ ।