हराएको भनिएको ११ नम्बर सीमा स्तम्भ भेटियो
काठमाडौं : हराएको भनिएको चीन नेपाल सीमाको ११ नम्बर सीमा स्तम्भ भेटिएको छ। हुम्लाको नाम्खा गाउँपालिका ६ लाम्चाको माथि ताकु लेकमा उक्त स्तम्भ भेटिएको हो।
प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले भेटेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए। यो सीमा स्तम्भ २०१९ सालमा नेपाल चीन सिमांकन हुँदा स्थापना गरिएको थियो।
सीमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरीले स्तम्भ नभेटिएको सूचना दिएपछि प्रमुख जिल्ला अधिकारीसहित निरीक्षण टोली सो क्षेत्रमा गएको थियो।‘खोज्दै खोजिएको थिएन, त्यसै नभेटिएको भन्ने कुरा आएको होला’, उनले भने, ‘अहिले खोजियो भेटियो । ’ उनले अनुमान गरिएकै क्षेत्रमा स्तम्भ भेटिएको बताए।
उता चीनले लाम्चा उपत्यकाको लोलुङजोङमा ११ वटा वटा भवन बनाएको छ। स्थानीय बासिन्दाले त्यो भूभाग नेपालको भएको बताउँदै आएका छन्। चीनले भने उक्त भवन आफ्नै जमिनमा बनाएको दाबी गरेको छ। नेपाल सरकारले सीमाबाट १ किलोमिटर चीनतर्फ ती भवन बनाएको जनाएको छ। गाउँपालिका अध्यक्ष लामाले यस क्षेत्रमा चीन बनाएका भवनको बारेमा अनुसन्धान नगरी यसै भन्न नसिकने बताए। 'यो प्राविधिक विषय हो, हामीले भन्ने होइन', उनले भने।
उनले आफू छिटो फर्किएको र प्रमुख जिल्ला अधिकारी गिरीको टोली भने अझै निरीक्षणमा नै रहेको बताए। उक्त पिलर समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा छ। यो स्तम्भ मर्मत गर्न गएका नापी विभागका तत्कालीन प्रमुख नापी अधिकृत बलराम पोखरेल प्राविधिक टोली विवादको टुंगो लगाउनु पर्ने बताउँछन्। 'अहिले चर्चा भएको नेपाल चीन सीमा क्षेत्रको ११ नम्बरमात्र हैन १०, ११ ,१२ नम्बरका पिलरहरु जमिनमा छन्। ती पिलरहरु थर्ड जेआइसीको दौरानमा मसहित हाम्रो टोली र चिनियाँ टोलीले संयुक्तरुपमा मर्मत गरेको हो। त्यसताका सीमावर्ती क्षेत्रमा भबनहरु थिएनन्', उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, 'अहिले चीनले निर्माण गरेको भवन कहाँ र कता पर्ने भन्ने सम्बन्धमा परराष्ट्रले नापी विभागका प्राविधिक सहितको टोली स्थलगत निरीक्षण गर्न द्विपक्षीय सहमतिमै सीमाको नक्सा, सीमा रेखाको रुट कोर्डिनेट र जीपीएश लगायतका यन्त्रहरु सहित टोली पठाउनु पर्यो। जाने टोलिले प्रोटोकलको राम्रो अध्ययन गरी त्यहाँको सीमारेखाको प्रकृतिका बारेमा बुझ्न जरुरी छ।'
उनी थप लेख्छन्, 'किनकि नेपाल चीन बीचको सीमा रेखा नेपाल भारत बीचको जस्तो पिलरबाट पिलरसम्म सोझो र छोटो दुरीमा नभइ एउटा पिलरबाट अर्को पिलर लामो दुरीमा रहेका साथै पानीढलो, नदी र कही कही सोझो सीमारेखाका रुपमा रहेको छ। मलाई लाग्छ अहिले ती स्थानमा पैदल जान सकिन्छ। स्थलगत निरीक्षणले यो चर्चालाई टुंगोमा पुर्याउनेछ। टोली छिट्टै खटाउँदा राम्रो।'