पुनर्निर्माणका लागि भारतले दियो १ अर्ब ५४ करोड
काठमाडौं : नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि भारत सरकारले नेपाललाई एक अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई गएको मंगलबार चेक हस्तान्तरण गरेकी हुन् ।
भारत सरकारले आवास परियोजनाअन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ ।
भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धतामध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ । यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायताअन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४/२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।