आफ्नै परिवारका तीनजनामाथि बाम्फोक प्रहार गर्ने पक्राउ
ताप्लेजुङ : आफ्नै ठूलो बुवाको तीनजना परिवारमाथि बाम्फोक प्रहार गर्ने २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन् । बुधबार राती अन्धाधुन्ध बाम्फोक हानेर फरार रहेका सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका लाक्पालाई बिहीबार याम्फुदिनबाटै पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
पराल राख्ने खोल्मामा सुतिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनले बुधबार राती ६१ वर्षीय ठुली आमा फुटिक भोटे, ३६ वर्षीय दाजु पासाङ भोटे र १८ वर्षीय भाइ लाक्पाछिरिङ भोटेमाथि आक्रमण गरेको वडाध्यक्ष टसी लामाले बताए ।
लामाका अनुसार घाइते सबैको अवस्था चिन्ताजनक छ । भारतसँको सीमावर्ती क्षेत्र भएकाले अभियुक्तको खोजीका लागि रातीदेखि नै पाँथरको चिवाभञ्ज्याङ र ताप्लेजुङका सबै नाकामा प्रहरी परिचालन गरिएको थियो ।
उनलाई कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइने प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भाइरहेको छ । थप उपचारका लागि गाउँपालिकाको केन्द्र तेल्लोकबाट एचएसहितको टोली पठाइएको पालिका अध्यक्ष टिकाराम गुरुङले बताए ।
उनीहरुलाई याम्फुदिन पुग्न कम्तीमा आठ घण्टा लाग्छ । गुरुङका अनुसार मान्छेले बोकेर ल्याउदा गाडीको भएको हप्पुखोला सम्म पुर्याउन एकदिन पुरै लाग्ने भएकाले काठमाडौंबाट हेलिकोप्टर झिकाइएको छ ।
'एकैपटक सुविधासम्पन्न अस्पतालमा पुर्यान हेलिकोप्टर झिकाएका छौं, तर खराब मौसमका कारण उड्न सकेको छैन, ' गुरुङले भने । हेलिकोप्टर नआउञ्जेलसम्म पालिकाबाट गएको एचएको टोलीले उपचार गर्ने बताइएको छ ।