सप्तरीमा थप १५ जनामा कोरोना संक्रमण
राजविराज : सप्तरीमा ४ नेपाली सेना, १ प्रहरी र १ अनमीसहित १५ जना कोरोना संक्रमित थपिएका छन् । नेपाली सेनाको राजविराजस्थित भिमदल गणका ३४, ३५, र ३६ वर्षका दुई जना पुरुष संक्रमित भएका हुन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा भएको परीक्षणमा नेपाली सेनाका ४ जना र डाकनेश्वरी नगरपालिका–९ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकामा १ अनमी, १ प्रहरीसहित १० जना कोरोना संक्रमित थपिएका छन् । राजविराजस्थित प्रयोगशालाले स्वाब लिन नमानेपछि मङ्गलबार जनकपुर पठाइएको ४६ ओटा स्वाबमध्ये २८ जनाको रिपोर्ट आएको र त्यसमध्ये १ प्रहरी, १ अनमीसहित १० जना संक्रमित भएको हनुमानगर कंकालिनी नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार २२३ पुगेको छ । जसमध्ये २ महिला र १० पुरुषको मृत्यु भएको छ ।