‘हराएको होइन’ ११ नम्बर पिलर
काठमाडौं : नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले २०६२/६३ (सन् २००७) मा ११ नम्बरसहित सीमा स्तम्भ निरीक्षण गरेको पाइएको छ। नापी विभागका तत्कालीन प्रमुख नापी अधिकृत बलराम पोखरेलसहितको टोलीले चुचुरोमा पुगेर ११ नम्बर सीमा स्तम्भको मर्मत गरेको थियो। त्यसबेला नेपाल–चीन सीमा निरीक्षण गर्न पाँचवटा टोली खटिएका थिए।
टोलीले दार्चुला, बझाङ, हुम्ला पुगेर सीमास्तम्भ पुनर्निर्माण र मर्मतसम्भार गरेको थियो। टिंकरमा रहेको १ नम्बर सीमा स्तम्भसम्म पुगेर अनुगमन गरिएको पोखरेलले बताए। ५८ वर्षदेखि ती सीमास्तम्भ निरीक्षण नभएको भन्ने कुरा गलत भएको उनको दाबी छ।
‘त्यहाँ चुचुरो छ। हामी आधा घोडा, आधा पैदल गएका थियौं’, उनले भने, ‘हामीले त्यो स्तम्भ मर्मत गरेका हौं।’ उनले सीमास्तम्भ गाडेदेखि(५८ वर्ष) त्यहाँको अवस्था जानकारी नभएको भन्ने गलत रहेको बताए। ‘हाम्रो सरकारी संयन्त्रमा इन्स्टिच्युसनल मेमोरी छैन। मान्छे रिटायर्ड भएसँगै सबै गायब हुन्छ। अभिलेखीकरण नै छैन’,उनले भने, ‘कस्तो भद्रगोल ? म स्वयं सन् २००७मा त्यहाँ गएको हुँ?’
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ५८ वर्षदेखि ११ नम्बर सीमा स्तम्भ हराएको र लिमीलाप्चा क्षेत्रको नेपाली भूभागमा चीनले ११ भवन बनाएको प्रतिवेदन गृह मन्त्रालयमा पठाएका थिए। त्यसपछि प्रमुखजिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली निरीक्षणमा गएको थियो। हराएको भनिएको स्तम्भ जहाँको त्यहीं पाइएको छ। गृह मन्त्रालयले हमाललाई स्पष्टीकरण सोधेको छ।
निरीक्षण टोलीका सदस्य नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले अनुमान गरिएकै स्थानमा स्तम्भ भेटिएको बताए। ‘खोज्दै खोजिएको थिएन। त्यसै नभेटिएको भन्ने कुरा आएको होला’, उनले भने, ‘अहिले खोजियो भेटियो।’ लामाले उक्त क्षेत्रमा चीनले बनाएका भवनको बारेमा अनुसन्धान नगरी यसै भन्न नसिकने बताए। ‘यो प्राविधिक विषय हो, हामीले भन्ने होइन’, उनले भने।
नेपाल र चीनबीच२१ मार्च १९६० मा सीमा सम्झौतामा हस्ताक्षर भई संयुक्त सीमा समिति गठन भएको थियो।
पोखरेलकाअनुसार हालसम्म चीनतर्फको सीमा निरीक्षण तीनपटक भएको छ। २०१९ सालमा चीन नेपालको संयुक्त प्राविधिक टोलीले ११ नम्बर सहित नेपाल चीनको सीमाका स्तम्भ गाडेर सिमाना छुट्याएको थियो।२०३६, २०४५ र २०६१/६२ मा चीनतर्फको सीमानाको निरीक्षण गरिएको हो। तीनै पटक आफूले अवसर पाएको उनको भनाइ छ।
सन् १९६३, १९७९ र १९८८ मा तीन प्रोटोकलमा हस्ताक्षर भएको थियो। सन २००६/७मा सिमानाको निरीक्षण, सीमा स्तम्भको मर्मत गरिए पनि प्रोटोकलमा हस्ताक्षर भने हुन सकेन।‘अहिले चर्चा भएको नेपाल–चीन सीमा क्षेत्रको ११ नम्बरमात्र हैन, १० र १२ नम्बरका पिलर जमिनमा छन्। ती पिलर थर्ड जेआईसीको दौरानमा म सहितहाम्रो टोली र चिनियाँ टोलीले संयुक्त
रुपमा मर्मत गरेको हो’, उनले भने,‘त्यसताका सीमावर्ती क्षेत्रमा भवन थिएनन्। अहिले चीनले निर्माण गरेको भवन कहाँ र कता पर्ने भन्ने सम्बन्धमा परराष्ट्रले नापी विभागका प्राविधिक सहितको टोली स्थलगत निरीक्षण गर्न द्विपक्षीय सहमतिमै सीमाको नक्सा, सीमा रेखाको रुट कोर्डिनेट र जीपीए लगायत यन्त्रसहित टोली पठाउनुपर्यो। जाने टोलीले प्रोटोकलको राम्रो अध्ययन गरी त्यहाँको सीमा रेखाको प्रकृतिका बारेमा बुझ्न जरुरी छ।’
चीनतर्फको सीमा पानी ढलो सिद्धान्तका आधारमा निर्धारण भएकाले भारततिरको जस्तो सीधा रेखाको आधार(स्थीर सीमा सिद्धान्त) सीमा लागू नहुने उनको भनाइ छ। उत्तरमा दक्षिणमा जस्तो २/२ किलोमिटरमा सीमा स्तम्भ छैनन्। टिंकरको १ नम्बर सीमा स्तम्भबाट बझाङको उराई भन्ज्याङमा रहेको २ नम्बर सीमा स्तम्भ ४२ किलोमिटर टाढा छ।
नेपाल र चीनबीच २१ मार्च १९६० मा सीमा सम्झौतामा हस्ताक्षर भई संयुक्त सीमा समिति गठन भएको थियो। नेपाल–नेपाल सीमामा ७९ मुख्य र २० वटा सहायक गरी ९९ वटा सीमास्तम्भ छन्।