केराउ तस्करीमा कडाइ : कारोबारीको हारगुहार

केराउ तस्करीमा कडाइ : कारोबारीको हारगुहार

परासी : केराउ तस्करीमा कडाइ गरेपछि कारोबारीको हारगुहार सुरु भएको छ। पश्चिम नवलपरासीका विभिन्न सीमा नाकाबाट भारततर्फ हरियो केराउ, छोहडा र मरिच तस्करी हुँदै आएको छ। 

तस्करी बढेपछि जिल्लास्थित सुरक्षा समितिको भदौ ८ गतेको बैठकले कोभिड–१९ को कारण देखाउँदै भारततर्फ चोरी निकासी हुने उक्त सामग्रीको जिल्लामा ओसार–पसार र ढुवानीमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाएसँगै बाहिरबाट आउने केराउ जिल्ला भित्रिन सकेको छैन। रुपन्देही र कपिलवस्तुमा लैजान भन्दै ल्याएको केराउ कारोबारीले लुकाएर नवलपरासी भित्राउन थालेका छन्। त्यसरी लुकाएर भित्र्याइएको केराउ प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि कारोबारीले सुरक्षा समितिको निर्णय फुकुवा गर्न उद्योग वाणिज्य संघ र राजनीतिक दलका नेतालाई हारगुहार गर्न थालेका हुन्। 

पुरानो स्टकमा रहेका र लुकाइ छिपाइ ट्रकमै ल्याएर सीमावर्तीका गोदाममा राखेका केराउ अहिले पनि स्थानीयलाई प्रयोग गरेर भारततर्फ तस्करी गर्न भने छाडेका छैनन्। ठूलो मात्रामा ओसारपसार गर्न नपाएपछि रकम दिएर स्थानीयलाई झोलामा बोकाएर केराउ भारततर्फ तस्करी गर्ने गरेका छन्। त्यस्ता केराउलाई समेत प्रहरीले पक्राउ गर्न थालेपछि उद्योग वाणिज्य संघ मार्फत कारोबारीले प्रशासनलाई दबाब दिन थालेका हुन्। 

दबाब थेग्न नसकेपछि उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर केराउ, छोहडा, मरिचमा लगाएको प्रतिबन्ध फुकुवा गराउन माग गरेको छ। तर प्रशासनले भने तस्करी हुने सामग्रीमा लगाइएको प्रतिबन्ध तत्काल फुकुवा नहुने जनाएको छ। जिल्लामा १ सय बढी केराउको कारोबार गर्ने ठूला व्यवसायी रहेको उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले बताए। उनले व्यवसाय दर्ता गरेर बसेका व्यवसायीलाई कानुन अनुसार व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेको बताए। 

प्रहरीले केराउ तस्करीमा कडाइ गरेपछि केही कारोबारी जिल्ला प्रहरी प्रमुख अजय केसीको सरुवा नै गराउन लागिपरेको स्रोतले बताएको छ। गत वैशाखमा सरुवा भएर आएका प्रहरी प्रमुख केसीको सरुवा गराउन उनीहरु राजनीतिक दलका नेताहरुसम्म पुगेको स्रोतको दाबी छ। साउनदेखि भदौ मसान्तसम्मको अवधिमा प्रहरीले बुझाएका केराउमध्ये ५० लाख बढीको लिलाम भएको महेशपुर भन्सार कार्यालयले जनाएको छ। 

तेस्रो मुलुकबाट आउने केराउ विरगञ्जको नाका हुँदै नवलपरासी ल्याउने गरिएको छ। नेपालमा प्रति केजी ८० देखि ८५ रुपैयाँ नेपालीमा बिक्री हुने हरियो केराउ भारत पुर्‍याएपछि ९० देखि १ सय रुपैयाँ भारुमा बिक्री हुने भएकाले चोरी निकासी हुने गरेको सीमावर्ती नाकामा गोदाम बनाएर केराउ स्टक गर्ने कारोबारीले महेशपुर, भूजहवा, विस्नुपुरालगातका नाकाबाट तस्करी गर्ने गरेका छन्। विगतमा उक्त नाकाबाट २ करोडसम्मको केराउ चोरी निकासी हुने गरेको स्थानीयले बताएका छन्। अहिले पनि प्रहरीले हरेक दिनजसो २ देखि ५ लाख बराबरको केराउ पक्राउ गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.