फरार ३१ अभियुक्त एकै दिन पक्राउ
राजविराज : जिल्ला प्रहरी कार्यालय सप्तरीले पुनः ३१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। एक दिन अघि मात्र १४ जना फरार अभियुक्तलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत बुझाएको सप्तरी प्रहरीले पुनः ३१ जना फरार अभियुक्त पक्राउ गरेको हो।
सप्तरी जिल्ला अदालतले विभिन्न अपराधमा संलग्न भएको पुष्ठी गर्दै कैद तथा जरिवाना सुनाएसँगै फरार रहेका अभियुक्तहरुलाई प्रहरीले घरमै लुकिछिपी बसिरहेका बेला पक्राउ गरेको डिएसपी तिलक भारतीले बताए। कोरोना संक्रमणकका कारण घर आएर बसेको समयमा फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको डिएसपी भारतीको भनाइ छ।
अदालतको फैसलापछि फरार रहेका कुटपिट मुद्दाका १३ जना, लुटपिट मुद्दाका ३ जना, कुटपिट र लुटपिट मुद्दाका ३ जना, केही सार्वजनिक अपराध मुद्दाका ३ जना, वन पैदावरसम्बन्धी मुद्दाका २ जना तथा कर्तव्य ज्यान, अपहरण, डाँका, बहुविवाह, अदालतको अपहेलना, गाली बेइज्जती र सवारी ज्यान मुद्दाका १÷१ जना गरी ३१ जना फरार अभियुक्तलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ३२ वर्षदेखि फरार रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ का ५५ वर्षीय कुशेश्वर भन्ने खुसहर महतो पनि छन्। महतो विरुद्ध दर्ता भएको कुटपिट मुद्दामा ०४५ मङ्सिर २७ गते अदालतले फैसला सुनाएको थियो।
यसैगरी, अदालतको अपहेलना मुद्दामा २८ वर्षदेखि फरार रहेका तिलाठी कोईलाडी गाउँपालिका– १ का ४० वर्षीय दुर्गानन्द यादव र कुटपिट मुद्दामा साढे २२ वर्षदेखि फरार रहेका तिरहुत गाउँपालिका–१ का ५५ वर्षीय रामजी मरिक यादव समेत पक्राउ परेका छन्। जिल्ला अदालतले दुर्गानन्दविरुद्ध ०४९ माघ १५ गते र रामजीविरुद्ध २०५४ चैत २६ गते फैसला सुनाएको थियो।
अदालतको फैसला कार्यान्वयन गराउने क्रममा पक्राउ गरी जिल्ला अदालतमा बुझाउने अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले जानकारी दिए। अदालतको फैसला पछि फरार सूचीमा रहेका थप अभियुक्तको खोजीका लागि जिल्लाका प्रत्येक इलाका, चौकी र वडा प्रहरी कार्यालयका इञ्चार्जलाई निर्देशन दिएइको एसपी राजेन्द्र धमलाले बताए।
एक दिन अघि मात्र प्रहरीले ज्यान मार्ने उधोग, कुटपिट, लुटपिट, कुटपिट अंगभंग, जालसाजी, केही सार्वजनिक अपराध मुद्दामा १४ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो।