भक्तपुरमा कोरोना संक्रमणले थप एक पुरुषको मृत्यु
भक्तपुर : भक्तपुरमा शनिबार थप एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका २ झौखेलका ८८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको काभ्रेको धुलिखेल अस्पतालमा उपचारकै क्रममा शनिबार मृत्यु भएको चाँगुनारायण नपाका प्रमुख सोम मिश्रले जानकारी दिए ।
उनका अनुसार उनको मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । यहाँका १८ पुरुष र ७ महिला गरी २५ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।
भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ९ पुरुष र ४ महिला गरी १३ जना संक्रमितहरुको मृत्यु भएको छ । मध्यपुर थिमिपछि भक्तपुरमा ५ पुरुष र एक महिला गरी ६ जना तथा सूर्यविनायक नपामा ३ जना पुरुष र २ जना महिला गरी ५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।
शनिबार थपिए ६१ संक्रमित
यसैबीच शनिबार भक्तपुरमा ६१ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरमा ६३ जना संक्रमित थपिएको भनिए पनि ६१ जनाको मात्रै विवरण प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले भक्तपुरका चार नपामध्ये शनिबार सबैभन्दा बढी भक्तपुर नपामा १३ पुरुष र ११ महिला गरी २४ जना संक्रमित थपिएको जानकारी दिइन् ।
त्यस्तै सूर्यविनायक नपामा ७ पुरुष र ६ महिला गरी १३ जना, मध्यपुर थिमि नपामा ७ पुरुष र ५ महिला गरी १२ जना तथा चाँगुनारायण नपामा ३ पुरुष र ३ महिला गरी ६ जना संक्रमित थपिएको उनले बताए ।
उनका अनुसार शनिबार थप भएका ६१ जनामध्ये ६ जनाको ठेगाना खुल्न सकेको छैन ।