फुर्सदले बढाएन सिर्जनशीलता
काठमाडौं : ‘प्रायः लेखकले मैले लेखेँ, किताब सक्दैछु भनेर भन्नुभएको त छ तर कोरोनाको समयमै लेखेको भनेर कुनै पाण्डुलिपि हाम्रो हातमा आइसकेको छैन’, फाइन प्रिन्टका प्रकाशक निरज भारीले नयाँ किताब नआएकोबारे जानकारी गराए।
लकडाउनअगाडि नै लेखिएका किताब प्रकाशनको तयारीमा छ फाइन प्रिन्ट। यस्तै नेपालय पब्लिकेसनले पनि लकडाउनको समयमा नयाँ किताब बजारमा पठाउन सकेन। पहिल्यै काम सकाइएका केही किताब भने अनलाइनमार्फत विमोचन भए। नेपालयका फाउन्डर अर्पण थापाका अनुसार पब्लिकेसनलाई कोरोनाको समयमा केही पुस्तकको पाण्डुलिपि प्राप्त भएको छ।
लकडाउनमा लेखकका लागि लेख्ने समय प्रशस्त थियो तर तिनले त्यसको सदुपयोग गरेनन्। कोरोनाकै विषयमा सुजीव शाक्यको ‘कोभिड पछिको अर्थतन्त्र’ पुस्तक अपवादका रूपमा आयो। लकडाउनको समयमा लेखकलाई घर बसेर काम गर्ने समय त मिल्यो तर बाहिर फैलिइरहेको कोरोना भाइरसको त्रासले लेखनमा केन्द्रित हुने मुड भने तयार भएन। पूर्ण व्यावसायिक लेखकले पनि कम्प्युटरको किबोर्डमा हात अघि बढाएनन्। पुस्तक प्रकाशन, मुद्रण, बिक्रीवितरण पूर्ण रूपमा बन्द हुँदा यो पेसामा आबद्ध धेरै श्रमिक रोजगारविहीन हुन पुगे।
घरखर्च चलाउन गाह्रो भइरहेका बेला कुनै पनि लेखकले स्वतन्त्र रूपमा लेख्न सक्दैन। लकडाउनको समयमा पाठक र लेखकले अरू समयमा भन्दा धेरै पुस्तक पढ्न भ्याए। तर नयाँ पुस्तक प्रकाशन भने निकै कम मात्रामा भयो। त्यसैले प्रश्न उठ्नु स्वाभाविक हो कि अन्य बेला दौडधुप, हतारले लेख्न नभ्याएको बताउने लेखकहरू ५÷६ महिना घरमा बस्दा कति सिर्जनशील भए ? के फुर्सदले सिर्जनशीलता बढायो त ?
लेखक खगेन्द्र संग्रौला लकडाउन सुरु हुनुअघि अमेरिकाबाट भर्खरै फर्किएका थिए। नेपाल आउनासाथ उनी घरभित्रै थुनिए। ७० वर्षको हाराहारीमा पुग्न लागेका यी अग्रज लेखकले लकडाउनको समय पनि प्रायः लेखेरै बिताए। तर, प्रभावकारी र गुणात्मक लेख्न नसकेको बताउँदै उनले लेखकलाई बाहिरको परिस्थितिले निकै असर गर्ने बताए।
नेपाल आउनासाथ रातोपाटी अनलाइनमा ‘कोरोना कैरन’ स्तम्भ सुरु गरेका संग्रौला ‘कोरोना कैरन’ पुस्तक सार्वजनिक गर्ने तयारीमा छन्। आउने किताबलाई उनले क्वाँटी विधा नाम दिएका छन्। किताबमा समसामायिक महत्त्वको विषय भएकाले दसैंअगावै सार्वजनिक गर्ने तयारीमा छन् उनी।
कतिपय लेखकले लेखनका लागि लकडाउन फाइदाजनक भयो भन्ठान्छन् भने त्यो कोरा गफ मात्रै ठान्छन् संग्रौला। कोरोनाले धेरै ठूलो भय, सन्त्रास उत्पन्न गराएको अवस्थामा कुनै पनि विषयमा गहन तरिकाले पढ्न लेख्न नसक्ने अवस्था सिर्जना गरेको थियो। लेखक साधनाको हिसाबले यो समय अप्ठ्यारो हो। संग्रौलाका अनुसार कोरोनाको बेला सरकारले जनताका लागि गरेको बेवास्ता, भ्रष्टाचार, कुर्सीको लडाइँ, कमिसन, घुसखोरीको समाचार सुन्दा, जनताले दुःख पाएको हेर्नुपर्दा कुनै पनि लेखक ढुक्कले काम गर्न सक्दैन। लेखनलाई वातावरणले असर गर्छ।
त्यस्तै लेखक उमा सुवेदीलाई पनि लकडाउनको समयले खासै सिर्जनशील बनाएन। एक्कासि आएको महामारीका कारण सुरुआती केही महिना त उनी त्रसित भइन्। जागिरको सिलसिलामा कैलाली पुगेकी सुवेदीको मन लकडाउनले भारतमा जागिर गुमाएर फर्किएका मानिसको दुःखका कथाले पगाल्यो।
अस्तव्यस्त सरकारी क्वारेन्टाइनमा किशोरी, सुत्केरी महिलाको पीडाले उनलाई दुःखी बनायो। उनले केही कथा लेखिन् पनि। तर लेखनका लागि बाहिरी परिवेश, नयाँ नयाँ विषय चाहिने हुँदा घरभित्रै नयाँ सोच फुर्न नसकेको अनुभव उनले सुनाइन्।
फुर्सदले मात्रै लेख्न नसकिने बताउँदै लेखक नारायण ढकालले कोरोनाको समयमा आफू सिर्जनशील हुन नसकेको जनाए। समाजमा जति धेरै घुलमिल भयो, मानिससँग छलफल, अन्तत्र्रिmया गर्यो, उति नै लेखकलाई ऊर्जा मिल्ने भएकाले बन्द कोठामा आफूले नयाँ पुस्तक सुरु गर्न नसकेको उनले बताए। हाल पूर्णकालीन लेखनमा रहेका ढकाल नेपाली लेखकहरूको आर्थिक अवस्था उति सबल नभएकाले पनि धेरैजसो लेखक त आर्थिक आर्जनको समस्यामै अल्झिन परेको सुनाए। यसले पनि सिर्जनात्मक क्षमतामा असर गर्यो। यो बीचमा उनले केही लेख, कथा, कविता लेख्न भ्याए तर पुस्तक सुरु गर्न सकेनन्। पछिल्लो समय हिन्दी र संस्कृत भाषामा लेखिएको महाभारतको मूल गन्थ्र अध्ययनमा लागेका ढकाल नयाँ उपन्यास सुरु गर्ने योजनामा छन्।
अध्येता सगुना शाह लकडाउनको ६ महिनामा पनि व्यस्त रहिन्। अनलाइनबाटै कलेज पढाउने, भर्चुअल माध्यमबाट स्रष्टाहरूसँग साक्षात्कार कार्यक्रम सञ्चालनको जिम्माले उनलाई निकै व्यस्त बनायो। भन्छिन्, ‘आफ्नो सिर्जनशील काममा समय दिन पटक्कै फुर्सद भएन। केही लेख मात्रै लेख्न सकँे। डिजिटल माध्यममा बढी सक्रिय हुुनु पर्दा लेखकको सिर्जनशील क्षमतामा असर गर्ने रहेछ।’ उनको अनुभवमा लेखनका हिसाबले लकडाउन खासै फाइदाजनक रहेन।