जिल्ला अस्पताल जोमसोममा बिरामी बढे
जोमसोम : दुर्गम हिमाल पारीको जिल्ला मुस्ताङको जोमसोम अस्पतालमा यतिबेला बिरामीको संख्या बढेको छ। विश्वव्यापी महामारीको रुपमा उत्पन्न कोभिड-१९को कहर तथा बेनी-जोमसोम सडक अवरुद्धसँगै जोमसोम अस्पतालमा बिरामीको संख्या बढेको अस्पतालको ठम्याइ छ ।
जम्मा १५ शैयाको जोमसोम अस्पतालको इमरजेन्सी वार्डमा विभिन्न रोगका एक दर्जन बिरामी भर्ना भएका छन् ।जसमध्ये प्रसूति महिलाको संख्या बढी भएको पाइएको छ ।
यसका अलावा ,दम,सुगर ,प्रेसर जस्ता दिर्घरोगका बिरामी भर्ना भएका छन् ।जोमसोम अस्पतालको ओपिडि सेवामा यतिबेला दैनिक ३ दर्जन देखि ४ दर्जनसम्म विभिन्न रोगका बिरामी स्वास्थ्य चेकजाच गर्न आउने गरेको अस्पतालका निमित्त मेसु शिव भण्डारीले जानकारी दिए ।
यसअघि मुस्ताङको जोमसोम अस्पतालमा दैनिक डेढ दर्जनको अनुमातमा बिरामी आउने गरेकोमा अहिले त्यसको अनुपातमा ५० प्रतिशतले बिरामी वृद्धि भएको हो ।अस्पतालका मेसु भण्डारीले भने, 'अस्पातलमा अहिले इमरजेन्सी बेड क्षमता ३ कोठामा १५ बेड मात्र छ ।वार्डमा भर्ना हुने संख्या बढ्दै गएको छ । यस्तै रेसियोमा बिरामी बढेको अवस्थामा बिरामी व्यवस्थापन गर्न अप्ठ्यारो पर्नसक्छ ।'
भण्डारीका अनुसार बाढी/पहिरो र नदी कटानले बेनी/जोमसोम सडक अवरुद्ध भएको र कोरोना कहरले जिल्ला भित्रै उपचार गनुपर्र्ने बाध्यताले बिरामीको संख्या बढेको बताए । पोखरा/काठमान्डौंमा उपचार गर्न जाँदा कोरोना सर्ने डरले पनि जिल्ला अस्पतालमा बिरामीको संख्या बढेको हुनसक्ने उनको भनाई छ ।त्यसो त मौसम परिवर्तनका कारण पनि जिल्लामा समान्य बिरामीको संख्या बढेको हो ।
सरकारले असोज १ देखि हवाई तथा लामोदुरीका सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संञ्चालन गर्न पाउने निर्णय गरेपनि अझै पोखरा÷जोमसोम हवाई उडान सेवा सञ्चालन हुन सकेको छैन । यस्तै ,पछिल्लो समय गतहप्ता म्याग्दी अन्नपूर्ण गापा-३को रुप्से झरनामा आएको बाढी र मुस्ताङ र म्याग्दीको सिमानामा गएको पहिरोले काभे्रभीरमा लगायतका स्थानमा सडक अवरुद्ध हुदा बेनी-जोमसोम सिधा याताया सेवा अवरुद्ध हुँदै आएको छ ।
सडक अवरुद्ध र चर्को मुल्यमा हेलिकोप्टर चार्टर गरी उपयुक्त अस्पतालमा थप उपाचार गर्न सर्वसाधारणको क्षमताले नभ्याउने अवस्थाले पनि जोमसोम अस्पतालमा बिरामीको संख्या बढेको हो । अहिले उपल्लो मुस्ताङ देखि तल्लो मुस्ताङसम्मका बिरामी स्वास्थ्य चेकजाच गराउन अस्पताल आउने गरेको पाइएको छ । जोमसोम अस्पतालमा हाल एक स्थायी र ४ जना करारका आठौं तहका डाक्टर छन् । यस्तै अहेब १ जना मात्र कार्यरत छन् ।