बलात्कारबाट बालिका बढी पीडित

बलात्कारबाट बालिका बढी पीडित

- बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि असोज ७ गते हत्या भयो। गाईबस्तु बाँध्न गोठमा गएकी सम्झनाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। प्रहरीले उक्त घटनाका आरोपित स्थानीय १८ वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरेको छ। त्यसअघि साउन २९ गते अर्की १३ वर्षीयालाई बलात्कार गरेको आरोप बोहोरालाई लागेको थियो। उक्त घटनामा मिलापत्रपछि प्रहरी कारबाही अघि नबढेको पाइएको छ।

- कञ्चनपुर बेल्डाँडी गाउँपालिकाकी १४ वर्षीया बालिकालाई भदौ दोस्रो साता चार जनाले पाँच दिन बन्धक बनाएर सामूहिक बलात्कार गरे। मामाघरमा बस्दै आएकी ती बालिका भदौ १४ देखि बेपत्ता भएको भन्दै परिवारले इलाका कार्यालय बेल्डाँडीमै निवेदन दिएका थिए। प्रहरीले ३ अभियुक्तलाई पक्राउ गरेको छ।

- बर्दियास्थित बारबर्दिया नगरपालिका–८ मा भदौ ४ गते ११ वर्षीया बालिका बलात्कृत भइन्। घरको बरन्डामा हजुरआमासँग निदाइरहेकी ती बालिकालाई बोकेर खेतमा पुर्‍याई २१ वर्षीय चन्द्रमान विकले राति साढे २ बजेतिर बलात्कार गरेको आरोप थियो। प्रहरीले विकलाई पक्राउ गरेको छ।

 
यी तीन घटनाले बालिकामाथि हुने क्रूरताको दृश्य देखाउँछन्। यस्ता घटनामा पीडित हुनेहरू अधिकांश बालिका छन्। पीडक पनि २१ वर्ष नकटेका देखिन्छन्। यस्तो जघन्य अपराधमा संलग्न अभियुक्तले कानुनी कारबाही भोग्ने नै छन्। तर, यी घटनाले हाम्रो समाज कता जाँदै छ भन्ने गम्भीर प्रश्न उब्जाएको छ।

कतिपय घटनामा प्रहरीले जाहेरी नै लिँदैन। घरपरिवार र समाजले कतिपय घटना ढाकछोप गर्छन्। कतिपय जनप्रतिनिधि पनि घटना प्रहरीमा पुग्नुअघि नै मिलाउन लागिपर्छन्। राजनीतिक दबाबमा मिलापत्र गराउने घटना पनि भएका छन्। सप्तरीको डाकनेश्वरी–७ ललितपुरकी पीडित १७ वर्षीया नन्की भनिने संगीता मण्डलले हालै आफू सामूहिक बलात्कारमा परे पनि गाउँको ‘पञ्चेती’ले उजुरी दिन रोकेपछि आत्महत्या गरिन्। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले पछिल्ला केही बलात्कारका घटनामा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जानकारी दिए। बलात्कार घटनाको उजुरी आउनेबित्तिकै प्रहरीले अनुसन्धान थाल्ने गरेको प्रवक्ता कडायतको भनाइ छ। ‘प्रहरीले उजुरी लिनै मानेन भन्ने आरोपमा सत्यता छैन। गम्भीर प्रकृतिका घटनामा प्रहरी संवेदनशील छ’, उनले भने, ‘बझाङकै घटनामा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान गर्दा नै अर्को घटनाको पर्दाफास भएको हो।’

उमेर समूहअनुसार कुल घटनामा १३ प्रतिशत १० वर्षमुनिका नाबालिका पीडित भएको प्रहरी मुख्यालयको तथ्यांक छ। सबैभन्दा बढी ११ देखि १६ वर्षका बालिका पीडित छन्। कुल घटनामा ४० प्रतिशत यिनै उमेर समूहका बालिका छन्। प्रहरीमा दर्ता भएका घटना विश्लेषणअनुसार १९ देखि २५ वर्षका युवती १७, २६ देखि ३५ वर्षका १२, ३६ देखि ४५ वर्षका ४, ४६ देखि माथिका ४ प्रतिशत महिला पीडित भएको देखिन्छ।

पीडक (आरोपित/अभियुक्त) १९ देखि २५ वर्ष उमेरका बढी देखिन्छन्। कुल संख्याको ३९ प्रतिशत यही उमेर समूहकाको संलग्नता रहेको प्रहरी अध्ययनले देखाएको छ। घटना दर्ताअनुसार २६ देखि ३५ वर्ष उमेरका २५ प्रतिशतको संलग्नता देखिएको छ। घटनामा संलग्न आरोपितमध्ये ४६ वर्षदेखि माथिका १०, ३४ देखि ४५ वर्षका १३ र ११ देखि १६ वर्षका ६ प्रतिशत, १७ देखि १८ वर्षका ६ प्रतिशत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.