चाडपर्व लक्षित गरी क्वारेन्टाइन व्यवस्थित गर्दै स्थानीय सरकार
धादिङ : नेपालीहरुको दसैं- तिहार जस्ता ठूला चाडपर्व नजिकिदै छन् । कोभिड १९ संक्रमणको जोखिम पनि उस्तै छ । धादिङमा पनि कोभिडको–१९ को संक्रमण कम नभएकाले चाडपर्व लक्षित गरी स्थानीय सरकारले क्वारेन्टाइन थप व्यवस्थित गर्न थालेका छन् । चाडपर्वमा भारतलगायत देशकै अन्य क्षेत्रबाट गाउँ फर्कनेहरुलाई लक्षित गरी आचार–संहिता निर्माणदेखि क्वारेन्टाइनको व्यवस्थापनमा जुटेका हुन् ।
दसैं- तिहार जस्ता ठूला चाडपर्व नजिक आएकाले उक्त समयमा गाउँ फर्कनेलाई सुरक्षित राख्नका लागि स्थानीय सरकार क्वारेन्टाइन व्यवस्थापनमा जुटेका हुन् । सुरुवाती चरणमा हतार हतारमा विद्यालयमा क्वारेन्टाइन बनाइएको भएपनि व्यवस्थापन फितलो भएको र संक्रमणको जोखिम कायम रहेको गुनासो आउन थालेपछि नयाँ ठाउँमा क्वारेन्टाइन बनाउन थालिएको हो । नयाँ ठाउँमा क्वारेन्टाइन बनाएसँगै धादिङका ७ वटा स्थानीय सरकारले क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने विभिन्न ९ बुँदै आचारसंहिता समेत जारी गरेका छन् ।
स्वास्थ्य सरसफाइ, सदाचार, महिला तथा बालबालिका, अपाङगता वृद्धवृद्धाका लागि पालना गर्नुपर्ने नियम तथा क्वारेन्टाइनमा गर्न हुने र नहुने कामहरुको विषयमा आचारसंहिता बनाएर लागु गरिएको खनियावास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले बताए । उनले भने, 'क्वारेन्टाइनमा रहने सबैबाट पहिले आचारसंहिता पूर्ण रुपमा पालना गर्नका लागि प्रतिवद्धता माग्छौँ, हामीले क्वारेन्टाइनमा न्युनतम पूर्वाधारहरुका सबै व्यवस्था गरेका छौं, यसरी राख्दा संक्रमण फैलन नदिने अपेक्षा गरेका छौं।'
स्थानीय सरकारले क्वारेन्टाइन बनाएको क्षेत्रमा स्वास्थ्य र सरसफाइ लागि एक्सन नेपाल नामक गैर सरकारी सस्थाले सहयोग गरेको छ । डिसिएसँगको साझेदारीमा एक्सन नेपालले संचालन गरेको पुर्णिमा परियोजनाले धादिङका ७ वटै स्थानीय तहले संचालन गरेका क्वारेन्टाइनहरुमा रहने प्रत्येक ब्यक्तिलाइ आवश्यक पर्ने ब्यक्तिगत सरसफाइ सामाग्रीदेखि, क्वारेन्टाइनमा इन्टरनेट, टेलिभिजन, व्यवस्थित शौचालय तथा छुट्टै स्नानघर समेत निर्माण गरिदिएको छ ।
स्थानीय सरकारले क्वारेन्टाइनमा रहेकालाई मनोरामर्शको आवश्यक परेको खण्डमा परामर्श दिने समेत व्यवस्था मिलाएको छ । ज्वालामुखी गाउँपालिका ३ अमरावतीमा रहेको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष रुद्रमान श्रेष्ठले भने, 'स्थानीय सरकार र सहयोगी सस्था मिलेर हामीले क्वारेन्टाइन व्यवस्थित बनाएका छौं, क्वारेन्टाइनमा इन्टरनेट राख्ने, टेलिभिजन राख्ने, शौचालय पर्याप्त बनाउने कुरामा ध्यान दिएका छौँ । आधारभूत कुरामा कुनै गुनासो नआओस भन्ने कुरामा ध्यान दिएका छौँ ।'
क्वारेन्टाइनमा रहेकाहरुले पनि सुरुवाती चरणभन्दा अहिले धेरै नै सुधार आएको बताएका छन् । भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेकी ज्वालामुखी गाउँपालिका २ की गोमा श्रेष्ठले भनिन्, 'विशेष कामले म भारत गएर फर्किनुपरेकाले यहाँ बसेको छु, पहिले हामी आफैले हेरेका थियौँ, विद्यालयमा बनाइएको क्वारेन्टाइन कति भद्रगोल थियो । तर अहिले धेरै कुरामा सुधार आएको छ ।'
कोभिड १९ संक्रमणको सुरुवाती चरणमा धादिङमा क्वारेन्टाइन व्यवस्थापन निकै फितलो देखिएको थियो । धेरैजनालाई एकै ठाउँमा राख्नुपर्ने, स्वास्थ्य र सरसफाइमा झनै जोखिम भएको जस्ता गुनासो आइरहेको बेलामा स्थानीय सरकारले चाडबाड लक्षित गर्दै बनाएको क्वारेन्टाइनको नयाँ मापदण्डले पक्कै पनि संक्रमण फैलनबाट बचाउने अपेक्षा गरिएको छ । चाडपर्वसँगै रोग पनि गाउँमा नआओस भन्ने उद्देश्यले गरिएको यो प्रयास सकारात्मक देखिएको छ ।