दाताले दिएनन् कबुल रकम

दाताले दिएनन् कबुल रकम

सुर्खेतः सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) स्थापनाका लागि महायज्ञ संचालन भयो । दाताहरुले लाखौं रकम दान गर्ने कबुल गरे । उक्त महायज्ञ संचालन भएको १२ वर्ष बित्यो । तर अधिकांश दाताले हालसम्म आफूले कबुल गरेको रकम भने विश्वविद्यालयलाई दिएका छैनन् ।

यो अवधिमा विश्वविद्यालयले दाताहरुलाई रकम जम्मा गरिदिन हारगुहार नै गर्‍यो । बारम्बार अनुरोध र पत्राचार पनि नगरेको होइन । तर पनि दाताले कबुल गरेको रकम दिएका छैनन् । कबुल भएको झण्डै तीन करोड रकम संकलन नभएको विश्वविद्यालयले जनाएको छ ।

महायज्ञ सम्पन्न भएको १२ वर्षसम्म वित्दा पनि दाताले रकम दिएका छैनन् । यो विश्वविद्यालय स्थापनाका लागि मौदगल्या सेवा समाजले २०६५ फागुन २७ गतेदेखि चैत ४ गतेसम्म सुर्खेतमा महायज्ञ लगाएको थियो । 

महायज्ञमा विभिन्न संघ संगठन, संघ संस्था र व्यक्तिले गरी झण्डै २६ करोड रकम दान दिने कबुल गरेका थिए । जसमध्ये चार हजार तीनसय ७० जनाले मागदान, ३० जनाले तुलादान, २३ जनाले भूमिदान र एकहजार २० जनाले नगद दान दिने कबुल गरेका थिए । तर महायज्ञमा कुल एक करोड २४ लाख ७५ हजार नौ सय ५७ रुपैयाँ ६२ पैसा मात्रै नगद दान भएको थियो । संकलन भएको रकम २०६६ साल भदौ २३ गते मौदगल्या सेवा समाजले विश्वविद्यालय स्थापनार्थ बनेको मूल नेतृत्वलाई हस्तान्तरण गरिसकेको थियो । 

मौदगल्या सेवा समाजका संयोजक सिताराम कार्कीका अनुसार विश्वविद्यालय स्थापनार्थ बनेको मूल नेतृत्वलेनै  बाँकी रकम उठाउने जिम्मा लिएको थियो । तर विश्वविद्यालय स्थापना भएको लामो समय वितिसक्दा पनि विश्वविद्यालय मूल नेतृत्वले रकम उठाउन सकेको छैन । विश्वविद्यालयले रकम संकलनका लागि दातासँग पहल नगरेकै कारण कबुल भएको रकम उठ्न सकेको कार्कीले बताए । 'दाताले कबुल गरेको लामो समय भयो, विश्वविद्यालयको मूल नेतृत्वले परामर्श गर्न सकेन’ कार्कीले भने, 'अब शतप्रतिशत रकम उठाउन मुस्कील पर्छ ।' तर मूल नेतृत्वले दातालाई खुशी बनाउन सकेको खण्डमा भने कबुल भएको रकम उठ्न सक्ने कार्कीको भनाइ छ । 
सुरुवातमै विश्वविद्यालयका पदाधिकारीहरु भ्रष्टाचार काण्डमा मुछिनु, विश्वविद्यालयमा चरम राजनीति हुनु र विश्वविद्यालयको मूल नेतृत्वले दातासँग समन्वय गर्न नसक्दा रकम संकलन हुन नसकेको सरोकारवाला बताउँछन् । यो विश्वविद्यालय स्थापना भएको केही समयमै त्यहाँका पदाधिकारीहरु भ्रष्टाचार काण्डमा मुछिएका थिए । त्यसपछि पनि राजनीतिक खिचातानीका कारण विश्वविद्यालय नेतृत्व अस्थिर बनेको थियो । पदाधिकारीबीचकै द्वन्द चरम उत्कर्षमा पुग्नु, विश्वविद्यालयलाई राजनीति गर्ने अखडा बनाउनु र शैक्षिक गुणस्तरमा ध्यान नदिनु जस्ता कारणले दाताले कबुल गरेको रकम नदिएको कतिपयको भनाइ छ । 

यसैबीच दाताबाट कबुल भएको तर उठ्न बाँकी रकम उठाउन विश्वविद्यालय नेतृत्वले संक्रियता देखाएको छ । कोरोना महामारीकैबीच विश्वविद्यालयले दातासँग तीन पटक छलफल गरिसकेको छ । छलफलमा दाताले कोरोना महामारीको अवस्था सहज हुने वित्तिकै रकम दिने प्रतिबद्धता जनाएका छन् । अधिकांशले दशैं–तिहारपछि रकम दिने बताएका छन् ।

विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले अब कुनै पनि हालतमा दाताले दिएको रकम दुरुपयोग हुन नदिने बताएका छन् । 'दाताले दिएको एक/एक रुपैयाँको हिसाबकिताब खोजिन्छ, तर रकम दुरुपयोग हुन दिँदैनौं,' सिंहले भने, 'दाताले दिएको रकम कहाँ कुन कामका प्रयोग भयो, स्पष्ट रुपमा सार्वजनिक गरिनेछ ।’ जनताले छाक काटेर विश्वविद्यालयलाई दिएको रकम कुनै पनि हालतमा दुरुपयोग हुन नदिने उनको अठोट छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.