कर्णालीमा स्याउ उत्पादन घट्यो

कर्णालीमा स्याउ उत्पादन घट्यो

सुर्खेतः कर्णालीमा यो वर्ष स्याउको उत्पादन घटेको छ । उत्पादन कम भएपछि बजारमा स्याउको मूल्य बढेको छ । अपेक्षा अनुसार स्याउ उत्पादन नभएपछि किसानले कोशेलीको रुपमा दिन पनि नपुगेको गुनासो गरेका छन् । उत्पादन नहुँदा आम्दानी पनि गुमेको यहाँका किसानको भनाइ छ ।

कर्णालीमा सबैभन्दा धेरै स्याउ जुम्लामा फल्छ । जुम्लामा गतवर्ष मात्र १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर योवर्ष जम्मा पाँच हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले उत्पादन घटेपछि यसपाली स्याउको मूल्य बढेकोे बताए । जुम्लामा यसपाली प्रतिकिलो ए ग्रेडको १६०, बी ग्रेडको १५५ र सी ग्रेडको १५० रुपैयाँ तोकिएको छ । उत्पादन घटेका कारण स्याउको मूल्य अझ बढ्न सक्ने देवकोटाको भनाइ छ ।

त्यस्तै हुम्लामा गतवर्ष साढे १४ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यहाँ योवर्ष उत्पादन आधा घटेको छ । त्यस्तै गतवर्ष १५ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुगुमा पनि ७० प्रतिशत उत्पादन घटेको छ । स्याउ उत्पादन घटेपछि योवर्ष बाहिरी जिल्लामा स्याउ निर्यात नहुने जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख पञ्चलाल बुढाले जानकारी दिए ।

गतवर्ष तीन हजार दुईसय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको डोल्पामा पनि योवर्ष झण्डै चारसय मेट्रिक टन स्याउ मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले बताए ।

कर्णालीका जुम्ला, डोल्पा, मुगु, कालिकोट र हुम्लामा अर्गानिक स्याउ उत्पादन हुन्छ । तर योवर्ष भने झण्डै ७० प्रतिशतले स्याउ उत्पादन घटेको छ । स्याउको फूल फुल्ने समयमा असिना पानी पर्दा फूल झरेपछि उत्पादनमा कमी आएको हो । गत जेठ बैशाखमा परेको असिना र पानीका कारण स्याउ उत्पादन घटेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । ‘योवर्ष आफैमा स्याउ उत्पादन घट्ने बर्ष हो’ देवकोटाले भने, 'जेठ बैशाखमा असिना पर्दा आधा उत्पादन घटेको हो ।' उत्पादन घटेपछि गत वर्षको तुलनामा स्याउको मूल्य बढेको हो । 'गतवर्ष किलोको ८०/९० रुपैयाँमा बिक्री हुन्थ्यो, योवर्ष एकसय ६० रुपैयाँसम्म पुगेको छ', उनले भने, 'उत्पादन घटेका कारण स्याउको मूल्य बढेको हो ।'
 
स्याउको उत्पादन घट्दा व्यवसायिक किसान भने मर्कामा परेको उनले जनाए । पछिल्लो समय जुम्लाका अधिकांश किसालने व्यवसायिक रुपमै स्याउ उत्पादन सुरु गरेका छन् । कर्णालीमा उत्पादित स्याउ सुर्खेत, नेपालगन्ज, पोखरा र काठमाडौंलगायतका सहरमा बिक्री हुन्छ । स्याउ निर्यातका लागि सम्बन्धित जिल्ला कृषि विकास कार्यालयले कृषकलाई कार्टुन उपलब्ध गराउँदै आएका छन् । कर्णालीमा रेड डेलिसियस, गोल्डेन र चक्लेटी लगाएतका जातका स्याउको खेती गरिँदै आएको छ ।

प्रति दानाको १५ रुपैयाँसम्म

गतवर्ष १५ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुगुमा योवर्ष जिल्ला बाहिर निर्यात गर्नका लागि स्याउ छैन । 'उत्पादन घटेपछि जिल्ला बाहिर निर्यात गर्ने स्याउ नै छैन’ जिल्ला कृषि विकास कार्यालयमा मुगुका प्रमुख पञ्चलाल बुढाले भने, 'योवर्ष त आफन्तलाई कोशेली मात्रै भयो ।' कार्यालयले अघिल्ला वर्षहरुमा स्याउ निर्यातका लागि चार हजारभन्दा बढी कार्टुन किसानलाई उत्पलब्ध गराउँदै आएको थियो । तर योवर्ष भने किसानले कार्टुनको माग नै गरेका छैनन् ।

स्याउ उत्पादन घटेका कारण सदरमुकाम गमगढीमा १०/१५ रुपैयाँ प्रति दानामा स्याउ बिक्री हुँदै आएको उनले बताए । सडक पुगेपछि किसानले स्याउ जिल्ला बाहिर पठाउन थालेका थिए । गतवर्ष ५० हजार रुपैयाँ आम्दानी गरेकी छायाँनाथरारा नगरपालिका–५ कार्कीबाडाका जगमाया भामले योवर्ष दुई हजार मात्रै आम्दानी हुने बताउँछिन् । 'भाउ र बजारको समस्या नभएपछि अन्नबाली छोडेर स्याउ खेतीमा लागेका थियौं,' उनले भनिन्, 'यसपाली उत्पादन घटेपछि घरखर्च कसरी चलाउने भन्ने चिन्ता लाग्न थालेको छ ।'

त्यस्तै हालसम्म सडक सञ्जालमा नजोडिएको हुम्लामा पनि यसपाली प्रतिदाना १० रुपैयाँका दरले स्याउ बिक्री हुँदै आएको छ । जहाजबाट स्याय निर्यात गर्दा महंगो पर्ने भएकाले दश रुपैयाँ दानाको स्याउ बिक्री गर्नु परेको सिमकोट गाउँपालिका वडा नम्बर ४ कि मालती शाहीले बताइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.