निर्मला पन्त हत्याको अनुसन्धान निष्कर्षमा पुग्नेगरी काम भइरहेको छ : आइजीपी थापा
काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी ११ वर्षीया निर्मला पन्त घटनाको अनुसन्धान तीव्र रूपमा भइरहेको प्रहरी महानिरीक्षक शैलेश थापाले बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा आइजीपी थापाले छिटोभन्दा छिटो निष्कर्षमा पुग्नेगरी काम भइरहेको बताएका हुन्।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले उक्त घटनाको अनुसन्धानबारे जानकारी मागेकी थिइन्। सोही क्रममा महानिरीक्षक थापाले घटनाको अनुसन्धान तीव्ररूपमा अगाडि बढिरहेको जनाएका हुन्।
महानिरीक्षक थापाले घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट अधिकृत पठाइएको र अनुसन्धान भइरहेको समितिलाई जानकारी गराए। उनले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धानका लागि सहयोगीको रूपमा केही दिनका लागि पठाएको समेत जानकारी दिए ।
निर्मला प्रकरणको छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजीलाई पनि विशेष जिम्मेवारी दिएको उनले जानकारी दिए ।