मदन भण्डारी राजमार्गमा १२ पुल थपिने
उदयपुर : राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको पूर्वी क्षेत्र वसाहा–भिमान खण्डमा थप १२ वटा पक्की पुल निर्माण हुने भएको छ । राजमार्ग निर्माणको प्रारम्भिक सर्वेक्षणमा छुटेका विभिन्न १२ वटा खोलामा विस्तृत विवरण लिइ आयोजनाले पक्की पुल निर्माणका लागि प्रक्रिया अघि बढाएको हो । आयोजनाअन्तर्गत अहिलेसम्म पूर्वी क्षेत्रमा ४३ वटा पक्की पुल निर्माणको अन्तिमचरणमा रहेको इन्जिनियर शिव तिमल्सिनाले बताए ।
छुटेका १२ वटा पुल पनि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको उनले बताए । अबको ३३ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी भ्याटसहितको एक अर्ब ४२ करोड ७० लाख २७ हजार ५० रुपैयाँको लागतमा तीनवटा कम्पनीसँग सम्झौता भएको उनले बताए ।
आयोजनालाई समयमा नै सम्पन्न गर्न १२ वटा पुलका लागि तीनवटा छुट्टा–छुट्टै प्याकेज बनाइ फरक–फरक कम्पनीसँग सम्झौता गरी निर्माणको काम अगाडि बढाएको इन्जिनियर तिमल्सिनाले बताए ।
उनकाअनुसार पहिलो प्याकेजका पधेरे खोला, सुखानीका, थनाहा, थपर र रातु खोला गरी पाँचवटा पुल निर्माणको लागि कुल ५४ करोड ३७ लाख २० हजार ६ सय रुपैयाँको लागतमा लुम्बिनी समानन्तर जेभि काठाडौंसँग जेठ १६ गते ठेक्का सम्झौता भएको छ ।
त्यसैगरी दोश्रो प्याकेजअन्तर्गत आमा खोला, मौवासी, असारी र खैराहाझोडा गरी चारवटा खोलाका लागि ५० करोड ४१ लाख ७५ हजार सात सय ५० रुपैयाँको लागतमा शर्मालामा जेभि काठमाडौं सितापाइलासँग जेठ १५ गते सम्झौता भएको छ ।
तेश्रो प्याकेजअन्र्तगत ज्यामिरे खोला, लामा र सुन्दरी खोलामा ३७ करोड ९१ लाख ३० हजार सात सय रुपैँया लागतमा काम सम्पन्न गर्ने गरी सपना हिमदुङ एण्ड ठोकर निर्माण कम्पनिसँग जेठ १५ गते सम्झौता भएको इन्जिनियर तिमल्सिनाले बताए । सडक निर्माणको काम तीब्र गतिमा अघि बढेकाले पुल निर्माणको काम पनि तोकिएकै मितिमा सम्पन्न हुने गरी अघि बढाइने उनले बताए ।
तीन खण्डमा काम भइरहेको मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तरगत उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म सडक र पुलको काम धमाधम भइरहेको आयोजनाको पूर्वी क्षेत्र प्रमुख वेलबहादुर भुजेलले बताए ।
उनले राजमार्गको पूर्वी खण्डको एक सय ३४ किलोमिटर सडकमा ४३ वटा पुल कोभेक–रसुवा–तुदी जेभीले २०७३ कार्तिक २४ गते तीन अर्व ८५ करोड ३५ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी सम्झौता गरी काम अघि बढाएको बताए ।
राजमार्गको वसाहा–भिमान खण्डमा सडकको कालोपत्रे गर्ने काम अन्तिमचरणमा पुगिसक्दा समेत त्यस क्षेत्रका १२ वटा खोलाका पुल अनिश्चित हुँदा वर्षातको समयमा सर्वसाधरणले सास्ति व्यहोर्नु परेको थिथो ।
खोलामा पानीको वहाव बढेसँगै यातायातका साधन र सर्वसाधरणको आवागमन अवरुद्ध हुँदै आएको थियो । भित्री मधेसका जिल्लाहरुलाई सहजरुपमा यातायाताको पहुँच पुर्याउने लक्ष्यसहित पूर्व झापाको शान्ति नगरदेखि पश्चिम डडेलधुरासम्म जोड्ने गरी सरकारले यो सडक सुरुवात गरेको हो । पूर्व–पश्चिम बैकल्पिक राजमार्गकोरुपमा सरकारले उच्च प्राथमिकतामा राखेर राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी निर्माणकार्यलाई तिव्रता दिएको छ ।
निर्माणाधिन मदन भण्डारी राजमार्गको पूर्वी खण्डले उदयपुरको वेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा उदयपुरगढी र रौतामाई गाउँपालिकालाई छोएको छ । कटारीबाट सिन्धुलीको दुधौली र कमलामाई नगरपालिका हुँदै हेटौडा जोडिने राजमार्गलाई भित्री मधेसको लाइफलाइनका रुपमा हेरिएको छ ।