कोरोनाले कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकको मृत्यु
सुर्खेत : कोरोना संक्रमणका कारण नेपालमा पहिलो पटक वरिष्ठ चिकित्सकको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक हरि सापकोटाको मृत्यु भएको हो। हाडजोर्नी तथा नशा रोग विषेशज्ञ डा. सापकोटाको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ।
कोरोना संक्रमण भएपछि उनको भेरी अस्पताल नेपालगंजमा उपचार भइरहेको थियो। मधुमेह र उच्च रक्तचापको बिरामीसमेत रहेका डा. सापकोटालाई आईसीयूमा राखिएको थियो। वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटालाई कोरोना पुष्टि भएपछि उपचारका लागि दुई साता अघि नेपालगंज रिफर गरिएको थियो। डा. सापकोटा १४ वर्षदेखि कर्णाली प्रदेश अस्पतालमा कार्यरत थिए।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले सापकोटको निधनले प्रदेश अस्पताललाई क्षति पुगेको बताए। डा. खड्काले भने,‘उहाँमा ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो, यहाँ उपचार सम्भव नभएपछि हामीले नेपालगंज रिफर गरेका थियौं।’
मृतक सापकोटाले यसअघि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदा तीन पटकसम्म निमित्त मेडिकल सुपरिटेण्डेण्ट भएर पनि काम गरेका थिए। मृतक ५९ बर्षिय डा. सापकोटा कर्णालीमा हाडजोर्नी रोगको उपचारका लागि परिचित थिए।
यस्तै सुर्खेतमा मृत भेटिएकी एक महिलामा कोरोना पुष्टि भएको छ। वीरेन्द्रनगरस्थित पीपीरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला मंगलबार मृत भेटिएकी थिइन्। कोठामै मृत भेटिएकी उनको बुधबार स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार उनको स्थायी घर सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा हो। उनी वीरेन्द्रनगर–११ पीपीरामा कोठा भाडामा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार केहीदिन अघिमात्र उनका पतिको पनि मृत्यु भएको थियो। ति महिलाको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कोठामै मृत भेटिएपछि उनको शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको थियो। पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।स्वाव परीक्षणपछि बुधबार पोजटिभ रिपोर्ट आएको हो।
मृतक महिलाको बिहीबार दाहसंस्कार गरिएको छ। नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए। योसँगै सुर्खेतमा कोरोना पोजिटिभ देखिएका मृतकको संख्या तीन पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा मृत्युअघि र मृत्युपछि कोरोना पुष्टि भई ज्यान गुमाउनेको संख्या सात पुगेको छ। जसमा सुर्खेत र दैलेखमा तीन÷तीन जना र डोल्पाका एक जना छन्।