कोटेश्वरका व्यापारी हत्या आरोपित बटालाको मुद्दा पुनरावलोकन हुने

कोटेश्वरका व्यापारी हत्या आरोपित बटालाको मुद्दा पुनरावलोकन हुने

काठमाडौं : कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यासम्बन्धी एक मुद्दामा गोविन्दबहादुर बटाला ‘जीवित’लाई सफाइ दिने फैसला पुनरावलोकन हुने भएको छ। बटाला चितवनको शक्तिखोरस्थित शिविरमा रहेको माओवादी जनमुक्ति सेना तेस्रो डिभिजनका ब्रिगेड कमान्डर थिए।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले उनलाई सफाइ दिने गरी २०७६ फागुन १८ गते फैसला सुनाएको थियो। सर्वोच्चले १२ वर्षअघि भएको श्रेष्ठको हत्या प्रकरणमा जिल्ला र उच्च अदालतको फैसला उल्ट्याएको थियो। 
महान्यायाधिवक्ता कार्यालयले उक्त फैसलामा कानुन र पूर्वनजिर उल्लंघन भएको जिकिरसहित गत भदौ २६ गते पुनरावलोकन निवेदन दिएको थियो। त्यसमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको विशेष इजलासले पुनरावलोकनको अनुमति दिएको हो। 

‘बिहीबारको आदेशबाट सरकारले दिएको पुनरावलोकन निवेदनमा पुनः सुनुवाइको बाटो खुलेको छ। श्रेष्ठलाई काठमाडौंबाट लिएर जाने काममा बटालाको संलग्नता छ। कुटपिटपछि गम्भीर अवस्थामा अस्पतालमा लैजान भनेर शक्तिखोरबाट लगेको देखिन्छ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले अन्नपूर्णसँग भने, ‘बाटोमा मृत्यु भएपछि लास डिस्पोज गर्ने कार्यमा संलग्नता छ। सफाइ पाउने आधार छैन भन्ने हाम्रो दाबी हो।’  

सरकारले सर्वोच्चले सफाइ दिँदा न्याय प्रशासन ऐन २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) को विपरीत भएको दाबी सर्वोच्चमा गरेको छ। उक्त कानुनी व्यवस्थाअनुसार फैसला त्रुटिपूर्ण देखिएमा पुनरावलोकनको बाटो छ। यसअघि सशस्त्रका तत्कालीन डीआईजी रञ्जनकृष्ण कोइरालालाई सर्वस्वसहित जन्मकैदबाट घटाएर साढे आठ वर्षमा झार्ने पूर्वफैसलामा पनि पुनरावलोकनका लागि निस्सा पाउने निर्णय सर्वोच्चले दिएको थियो। 

व्यापारी श्रेष्ठको घरबाट २०६४ चैत १४ गते १७ लाख नगदसहित हतियार चोरी भएको घटनामा अपहरणपछि माओवादी शिविर शक्तिखोर लगेर हत्या गरिएको प्रहरी छानबिनको निष्कर्ष थियो। श्रेष्ठको शव २०६५ वैशाख २८ गते नारायणी नदी किनारमा फेला परेको थियो। श्रेष्ठपत्नी रमिलाले पतिको अपहरणपछि हत्या भएको दाबीसहित दिएको किटानी जाहेरीका आधारमा मुद्दा चलेको थियो। 

घटनामा संलग्नताको अभियोगमा बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर रहेका कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो। बटाला पक्राउ परेका थिए भने खाम, अधिकारी र थापा फरार रहेको भन्दै अभियोगपत्र दर्ता गरिएको थियो। जिल्लाले बटालालाई हत्यामा मतियार ठहर गर्दै तीन वर्ष कैद हुने फैसला सुनायो भने अन्य प्रतिवादीको हकमा मुद्दा मुल्तबीमा राखिएको थियो। 

बटालाले पैसा र हतियार हराएको घटनामा अनुसन्धानका लागि व्यवसायी श्रेष्ठलाई  नियन्त्रणमा लिएको प्रहरी बयानमा स्वीकार गरेका थिए। उच्च अदालत हेटौंडाले पनि २०७० माघ ५ गते काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको थियो। उच्च अदालतको फैसलाविरुद्ध प्रतिवादी र सरकारी वकिलबाट सर्वोच्चमा दोहोरो पुनरावेदन परेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.