मुख्यसचिवमा वैरागी, खतिवडा र रेग्मी राजदूत सिफारिस
काठमाडौं : सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ। मुख्यसचिव लोकदर्शन रेग्मीले समयावधिभन्दा २२ दिनअघि राजीनामा दिएपछि उक्त ठाउँमा बिहीबारको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नियुक्त गर्ने गरेको हो। बैठकले रेग्मीलाई भने बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।
वैरागीको अवकाश यही असोज २२ मा हुँदै थियो। उनी अब पूरै तीन वर्ष मुख्यसचिव हुन पाउनेछन्। रेग्मीको तीनवर्षे कार्यकाल कात्तिक ६ मा पूरा हुँदै थियो। उनी स्वाभाविक मितिमा अवकाशमा गएको भए वैरागी मुख्यसचिव हुने थिएनन्। त्यो ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरे मुख्यसचिव हुने थिए। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी पनि मुख्यसचिवको दौडमा थिए।
२०२३ सालमा पर्वतमा जन्मिएका वैरागी २०४४ मा परराष्ट्र सेवामा प्रवेश गरेका हुन्। उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर। त्यसैगरी उनले ब्रसेल्सको फ्रि विश्वविद्यालयबाट विकासमा स्नातकोत्तर गरेका छन्।
संवैधानिक कानुनका ज्ञाता डा. चन्द्रकान्त ज्ञवालीले मुख्यसचिव नियुक्ति सरकारको अधिकार भएको बताए। सरकारले पहिलो पटक क्षमतावान् व्यक्तिलाई नियुक्त गरेको उनको भनाइ छ। ‘विगतमा क्षमतावान्लाई पछाडि पारेर मुख्यसचिवको नियुक्ति हुन्थ्यो। यसपटक राम्रो काम भएको छ’, उनले भने, ‘यो खुसीको कुरा हो, राम्रोलाई राम्रै भन्नुपर्छ।’ उनले अवकाशअघि मुख्यसचिवको राजीनामा विगतकै अभ्यासअनुसार भएको बताए।
यस्तै, बैठकले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत सिफारिस गरेको छ। खतिवडाले राष्ट्रियसभामा आफ्नो अवधि सकिएसँगै २०७६ फागुन २० मा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार उनी पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए। त्यही क्रममा उनले सञ्चार मन्त्रालय र सरकारका प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका थिए। संवैधानिक बाध्यताका कारण अर्थमन्त्रीबाट हटेलगत्तै उनलाई प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त गरिएको थियो। राष्ट्रिय योजना आयोगका सदस्य, उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, पुनः योजना आयोगका उपाध्यक्षसमेत भएका थिए।
सरकारले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत सिफारिस गरेको परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए। विश्वकर्मा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ का हुन्।