भक्तपुरमा अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिए
भक्तपुर : भक्तपुरमा शुक्रबार एकैदिन एकसय ८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। जुन अहिलेसम्मकै सर्वाधिक संक्रमितको संख्या हो।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार भक्तपुरमा एकसय ९६ जना संक्रमित थपिएको जानकारी दिइएको थियो तर एकसय ८१ जनाको मात्रै विवरण प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको हो।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको कूल संख्या २ हजार ३ सय २५ पुगेको छ। जसमा पुरुष एक हजार ३ सय १७ र महिला एक हजार ८ रहेको कार्यालयले बताएको छ।
कार्यालय प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नपामध्ये शुक्रबार सबैभन्दा बढी मध्यपुर थिमिमा ७९ जना संक्रमित थपिएको बताए। जसमा ४५ पुरुष र ३४ जना महिला रहेको उनको भनाइ थियो।
मध्यपुर थिमि यहाँका चार नपामध्ये सबैभन्दा बढी संक्रमित भएको नपासमेत हो। यहाँ शुक्रबारसम्म संक्रमितको संख्या ८ सय ८० पुगेको छ।
मध्यपुर थिमिपछि शुक्रबार सूर्यविनायक नपामा २६ पुरुष र १८ महिला गरी ४४ जना संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितको संख्या ५ सय १७ पुगेको छ।
शुक्रबार भक्तपुर नपामा २६ पुरुष र १७ महिला गरी ४३ जना संक्रमित थपिए। यहाँ शुक्रबारसम्म संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। मध्यपुर थिमिपछि बढी कोरोना भाइरस संक्रमित रहेको नपामा भक्तपुर दोस्रो स्थानमा रहेको छ।
शुक्रबार सबैभन्दा कम चाँगुनारायण नपामा ५ पुरुष र ४ महिला गरी जम्मा ९ जनामात्रै संक्रमित थपिए। यहाँ शुक्रबारसम्ममा कोरोना भाइरस संक्रमितको संख्या २ सय १५ जना पुगेको छ।
मर्नेको संख्या ३१ पुग्यो
यसैबीच भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ। शुक्रबारमात्रै भक्तपुरका २ जना संक्रमित महिलाको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार शुक्रबार ५१ र ६१ वर्षका दुई संक्रमित महिलाको मृत्यु भएको थियो। जसअनुसार १० महिला र २१ पुरुष गरी ३१ कोरोना भाइरस संक्रमितको मृत्यु भएको कार्यालयका प्रमुख मिजारले जानकारी दिए।
उनले शुक्रबारसम्म भक्तपुरमा एकहजार एकसय २९ जना सक्रिय संक्रमित रहेको बताए। जसमा पुरुष ६ सय ३९ र महिला ४ सय ९० रहेको बताए।
शुक्रबारसम्म एक हजार एकसय ६५ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन्। जसमा पुरुष ६ सय ५७ र महिला रहेको उनले बताए।