‘कुप्रथाविरुद्ध सबै जुट्न आह्वान’
बर्दिबास : धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित आफ्नै घरमा खेलिरहेका बालक आरय साहलाई उनका ५५ वर्षीय गाउँले काका शत्रुघ्न महतोले २०७६ वैशाखमा अपहरण गरी बन्धक बनाए। राति दूध–भात खुवाएर बालकलाई सँगै सुताएका शत्रुघ्नले मध्यरातमा शक्तिशाली धामी बन्नका लागि देवीलाई उक्त बालकको बलि चढाए। बालकलाई बलि चढाउन उनका भिनाजु मिथिला नगरपालिका–८ कुसुम बिछौनाका ५२ वर्षीय जंगवीर महतोले उक्साएका थिए।
अहिले उनीहरू दुवैजना पुर्पक्षका लागि जेलमा छन्। झारफुक र टुनामुना सिकेका साला शत्रुघ्नलाई तान्त्रिक सिद्धिका लागि बालकको बलि दिन उनका भिनाजु जगवीरले उक्साएका थिए। जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी थिए। जंगवीरको भजनमण्डलीमा दुई वर्षअघि शत्रुघ्न नयाँ सदस्यका रूपमा थपिएका थिए । सालो नै भएपछि जंगवीरले शत्रुघ्नलाई धामीको काम पनि सिकाए । झारफुक र टुनामुनाको मन्त्र पाएपछि शत्रुघ्नले सामान्य बिरामी पर्दा छरछिमेकका बच्चाको उपचार गर्न थालेका थिए ।
आर्यनलाई उनले ‘चकलेट दिन्छु’ भनी लोभ्याएर घर लगेका थिए। घरमा खेल्दै गर्दा अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा पनि भेटेनन्। बिहान मृत अवस्थामा घरनजिकैको बाँसघारीमा भेटिएका थिए ।
२१औं शताब्दीको विज्ञान तथा अनुसन्धानको युगमा नेपाली समाज कुप्रथा, कुसंस्कारको पछाडि रुमल्लिएको महोत्तरीको बर्दिबासका अधिवक्ता विष्णुबहादुर कार्की बताउँछन्। ‘मान्छे मार्नु कानुनी अपराध हो। धामीझाँक्रीले आफूले सिकेको मन्त्रको सिद्धि प्राप्त गर्न बलि दिएको अदालतमा बयान दिन्छन्’, उनी भन्छन्।
सामाजिक, सांस्कृतिक कुप्रथाविरुद्ध सबै एक हुनुपर्नेमा श्री रामानन्दी श्री वैष्णव संघ जनकपुरधामका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले अपिल गरे।अब देशमा कुसंस्कारविरुद्ध आन्दोलनको खाँचो रहेको जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीका अध्यक्ष परमेश्वर महतो बताउँछन्।