स्वास्थ्यकर्मीमा संक्रमण बढ्दो : सेवा बन्द गर्दै अस्पतालहरू

स्वास्थ्यकर्मीमा संक्रमण बढ्दो : सेवा बन्द गर्दै अस्पतालहरू

सुर्खेतः कर्णालीमा चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै गएको छ। धमाधम स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेपछि अस्पतालले पनि सेवा बन्द गर्न थालेका छन्। स्वास्थ्यकर्मीमा संक्रमणको दर बढ्दै गएपछि अस्पतालको सेवा प्रभावित हुन पुगेको हो।

मुख्य गरी कर्णालीका दुई ठूला अस्पतालहरु प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरु बढी संक्रमित भएका छन्। प्रदेश अस्पताल सुर्खेतमा मात्र हालसम्म ६० जना स्वास्थ्यकर्मीहरु संक्रमति भइसकेका छन्। यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि चिकित्सक र स्वास्थ्यकर्मी गरी हालसम्म ३१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्यकर्मीमा संक्रमण हुन थालेपछि अस्पतालको सेवा नै प्रभावित हुने गरेको हो।
    

बिरामीको उपचारका खटिने स्वास्थ्यकर्मी नै संक्रमित हुँदा सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालहरुले जनाएका छन्। पछिल्लो समय स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि कर्णालीका तीन वटा अस्पतालले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेका छन्। जिल्ला अस्पताल कालिकोट, सल्यान अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरेका हुन्। सल्यान जिल्ला अस्पताल र प्रतिष्ठानले बुधवारदेखि नै आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन्।

एकैपटक २७ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरिएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले बताए। अर्को सूचना जारी नहुदाँसम्म आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको उनले जनाए। यस्तै शुक्रबारदेखि जिल्ला अस्पताल कालिकोटले पनि आकस्मिक र प्रसुती सेवाबाहेक अरु सेवाहरु बन्द गरेको छ। चार जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द गरिएको हो। ‘स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना देखिएको छ’, जिल्ला स्वास्थ्य कार्यालयका कालिकोटका कटकबहादुर महतले भने, ‘कोरोना देखिएका कारण आकस्मिक र प्रसुती सेवाबाहेक अन्य सेवाहरु प्रभावित भएका छन्।’ 

आकस्मिक बाहेकका सेवा बन्द हुँदा ती अस्पतालबाट प्रदान हुने ओपीडी सेवा प्रभावित भएको हो। ओपोडी सेवा बन्द हुँदा बिरामीहरु समस्यामा परेका छन्। प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले पछिल्लो समय दिनहुँ स्वास्थ्यकर्मी संक्रमित हुन थालेको बताए। उनले भने,‘हालसम्म अस्पतालमा कार्यरत ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्, एउटै स्वास्थ्यकर्मीमा दुई-तीन पटकसम्म कोरोना भइसक्यो।’ स्वास्थ्यकर्मीहरुमा नै पटकपटक संक्रमण हुँदा सेवा प्रवाहमा चुनौती थपिएको बस्नेतले बताए। उनका अनुसार बिरामीको उपचार गर्दागर्दै स्वास्थ्यकर्मीमा पनि संक्रमण फैलिने गरेको छ। 

समयमै वैकल्पिक मामदण्ड नअपनाए अस्पतालले नियमित सेवा प्रवाह गर्न समस्या हुने उनको उनको भनाइ छ। प्रदेशका ठूला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु नै संक्रमित हुँदा बेलाबेलामा अस्पतालले आकस्मिक बाहेकका सेवाहरु बन्द गर्दै आएका छन्। कर्णालीमा शुक्रबारसम्म कुल संक्रमितको संख्या तीन हजार सातसय पुगेको छ। यस्तै तीन हजार ४५ जना डिस्चार्ज भएका छन्। शुक्रबारसम्म प्रदेशभर चारसय ९२ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। मन्त्रालयका अनुसार हालसम्म कर्णालीमा कोरोनाका कारण सात जनाको मृत्यु भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.