कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ। पार्टी केन्द्रीय कार्यालयमा गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीय सदस्यसहित अन्य केही व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण देखिएपछि पार्टी कार्यालय पाँच दिनका लागि बन्द गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए। उनका अनुसार असोज १८ गतेदेखि २२ गतेसम्म कार्यालय बन्द गरिएको हो।
शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहित ७० जना नेतालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। भोली (सोमबार) केन्द्रीय समिति बैठक बस्नुअघि केन्द्रीय कार्यालयका सुरक्षाकर्मी र कर्मचारीसहित २७० जनामा गरिएको कोरोना परीक्षणामा ७० जनामा कोरोना संक्रमण देखिएको थियो।
अझै केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। यसअघि नै प्रधानमन्त्री निवास बालुवाटारमा ७४ भन्दा धेरै कर्मचारी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।