मुस्ताङका होटल फागुनअघि नखुल्ने

मुस्ताङका होटल फागुनअघि नखुल्ने

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका अन्तरगतको मार्फा, जोमसोम र पुथाङ एयरपोर्टका पर्यटन व्यवसायीले विद्यमान अवस्थामा होटल खुल्न नसक्ने जनाएका छन्। घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकालीको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवाला सम्मिलित बैठकमा व्यवसायीले पर्यटक आवागमन सिजनको अन्त्य हुन लागेको र कोरोना भाइरसको जोखिम यथावत रहेको भन्दै तत्कालको अवस्थामा होटल सञ्चालन गर्न नसक्ने उल्लेख गरेका छन्।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले आन्तरिक हवाइ उडान, लामो दुरीको यातायात तथा होटल आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै सञ्चालन गर्न सक्ने निर्णय गरेपछि जिल्ला समन्वय समिति मुस्ताङले जिल्लाका होटल खोल्ने-नखोल्ने सम्बन्धी सरोकारवाला निकायसँग आवश्यक छलफल गरी ७ दिनभित्र सोको निर्णय जिससमा बुझाउन जिल्लाका ५ वटै स्थानीय तहलाई पत्रचार गरेको थियो।

समन्वय समिति मुस्ताङले होटल व्यवस्थापन सम्बन्धी पत्रचार गरेसँगै घरपझोङ गाउँपालिकाले बैठक बसी जोमसोम, मार्फा र पुथाङ एयरपोर्टका होटल व्यवसायीले फागुन १ अघि होटल खोल्न नसक्ने स्थानीय तहलाई जानकारी गराएका छन्। 

घरपझोङका पर्यटन व्यवसायीहरुका अनुसार स्थानीय तहले कोभिड—१९ नियन्त्रण सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल व्यवसाय सञ्चालन कार्ययोजना निर्माण गरी व्यवसायीलाई अनुशिक्षण गर्ने र हवाई तथा यातायात सेवा लगायतले सरकारले तोकेको कोभिड—१९ स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने अवस्था रहेमा मुस्ताङ आएका पर्यटकलाई पीसीआर रिपोर्टका आधारमा फागुन १ देखि मात्र राख्न सक्ने सुझाएका छन्। व्यवसायी सम्मिलित बैठकमा  यदी त्यस अवधिमा पनि अन्य सरोकारवाला क्षेत्रले सुरक्षाका आवश्यक मापदण्ड नअपनाएको पाइएमा होटल नखोल्न स्पष्ट पारेका छन्।

घरपझोङमा मुस्ताङ भित्रिने पर्यटकलाई होटल व्यवस्थापन गर्ने सम्बन्धी बैठकमा गाउँपालिका, एक्याप, वडा कार्यालय, पर्यटन व्यवस्थापन उपसमिति तथा अन्य होटल व्यवसाय सम्बन्धी समितिले समन्वय र सहजीकरण गर्ने बैठकमा प्रस्ताव भएको छ। बैठकमा व्यवसायीका तर्फबाट मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन, पर्यटन व्यवस्थापन उपसमितिका जितेन्द्र शेरचन, मोहनसिंह लालचन, कविन पन्नाचन र सन्तोष लालचन लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले विद्यमान अवस्थामा होटल व्यवसाय सञ्चालन गर्दा घातक हुन सक्ने बताए। उनले कोभिड—१९ को जोखिम बढिरहेको र होटलका कर्मचारीसमेत घर गइसकेकाले व्यवसाय सञ्चालन गर्न नसक्ने जनाएका छन्। यस्तै, वारागुङ मुक्तिक्षेत्र गापा—१ के मुक्तिनाथमा सञ्चालित होटलहरुको अहिलेको अवस्थामा खोल्न नहुने गाउँसमाजले व्यवसायीहरुलाई सुझाएको पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए। 

मुक्तिनाथ रानीपौवा गाउँसमाजले पालिका भित्रका होटल खोल्न नहुने भन्दै ध्यानआर्कषण गराएको गुरुङले उल्लेख गरे। तर,वारागुङ मुक्तिक्षेत्रको कागबेनी गाउँसमाजले आवश्यक सुरक्षा मापदण्ड अपनाएर होटल खोल्ने प्रस्ताव गरेको गापा सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए। जिल्लाको थासाङ , लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गापाले होटल सञ्चालन गर्ने विषयमा व्यवसायीसँग छलफल गरेर निर्णय लिने जनाएका छन्।

मुस्ताङमा बेनी—जोमसोम अवरुद्ध सडक खुलेसँगै स्याउ, आलु तथा च्याङ्ग्रा खरिद गर्न आउने व्यापारीको चहल-पहल बढेको छ। सरकारले विद्यार्थी सिकाइ सहजीकरण शिक्षाका लागि शिक्षकलाई कार्यक्षेत्रमा फर्किन अल्टिमेटम दिएपछि शिक्षकहरु मुस्ताङ आउने क्रम बढेको हो। 

तर शिक्षक,कर्मचारी, सुरक्षाकर्मी र व्यापारीको चहल पहल बढे पनि मुस्ताङ घुम्ने पर्यटकको उपस्थिति भने न्यून छ। मुस्ताङमा गत वर्षहरुमा दशै-तिहार जस्ता महत्वपूर्ण चाडपर्वमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या धेरै हुन्थे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.