प्रदेश ५ को राजधानी र नाम प्रस्ताव फिर्ता लिन जसपाको माग
परासी : प्रदेश ५ सरकारले प्रस्ताव गरेको प्रदेश नाम र राजधानीको स्थान फिर्ता लिन जनता समाजवादी पार्टी (जसपा) पश्चिम नवलपरासीले माग गरेको छ । सरकार विरोधी नारा लगाउँदै सोमबार सदरमुकाम परासीमा जसपाका नेता तथा कार्यकर्ताले गरेको प्रदर्शनमा नाम र राजधानीको प्रस्ताव फिर्ता लिन माग गरेका हुन् ।
प्रदेश सरकारले प्रस्ताव गरेको लुम्बिनी नामलाई परिवर्तन गरेर मधेस थरूहट प्रदेश राख्न जसपाको माग छ । त्यस्तै राजधानी बुटवल हुनुपर्ने उनीहरूको माग छ । प्रदर्शनपछि आयोजित विरोध कार्यक्रममा बोल्दै जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले मधेसी र थारूहरूको बसोबास नै नरहेको स्थानमा लगेर राजधानी राख्न खोज्नु मधेस आन्दोलनको विपरीत रहेको बताए । उनले मधेसको पहिचानका लागि आफूहरूले प्रदेशको नाम फेर्न माग गरेको बताए ।