व्यापार घाटा बढ्यो
धनगढी : लकडाउन अवधिमा सुदूरपश्चिमको एक मात्रै ठूलो नाकाबाट सात अर्बको व्यापार घाटा भएको छ। कोरोनाका कारण नाका बन्द भएपछि व्यापार घाटामा वृद्धि भएको हो।
प्रदेशको राजधानी धनगढीसँगै जोडिएको गौरीफन्टा नाकाबाट मात्रै चैत ११ गतेदेखि भदौ मसान्तसम्म ७ अर्बको व्यापार घाटा भएको कैलाली भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयको तथ्यांकअनुसार लकडाउनका बेला (चैत ११) देखि भदौ मसान्तसम्म भारतबाट ७ अर्ब १२ करोड मूल्य बराबरको सामान आयात भएको छ।
सोही अवधिमा नेपालबाट १६ करोड ४८ लाखको सामान मात्रै निर्यात भएको छ । ‘यस नाकाको व्यापार घाटा ९० प्रतिशत हाराहारी हो। लकडाउनका कारण झन त्यो बढ्यो’ कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख परमानन्द जोशीले भने। ‘गत वर्ष ९६ प्रतिशत व्यापार घाटा भएको थियो।
यस नाकाबाट भारतबाट पेट्रोलियम पदार्थ सबैभन्दा बढी मूल्यमा आयात हुने गरेको छ। त्यसपछि दालमोठ, भुजिया र बिस्कुटको आयात बढी छ। त्यसपछि गहुँको पनि आयात हुने गरेको छ। ‘लकडाउन अवधिमा एक अर्ब ५५ करोडको पेट्रोलियम पदार्थ मात्रै आयात भएको छ’, भन्सार अधिकृत जोशीले भने।
गौरीफन्टा नाकाबाट लकडाउनका बेला साढे ९२ करोडको गहुँ मात्रै आयात भएको छ। ‘लकडाउन भयो, आपूर्तिमा समस्या नदेखियोस् भनेर सरकारले गहुँको आयातमा पनि जोड दिएको देखिन्छ’, भन्सार अधिकृत जोशीले भने। यस नाकाबाट ७ करोड ८७ लाख मूल्यको चिनी, ३४ करोड बराबरको आलु, १३ करोडभन्दा बढीको अलकत्रा र २० करोड मूख्यको कागज आयात भएको छ।
‘लकडाउनका बेला, आयातमा अत्यावश्यक बस्नु केही पनि रोक भएन, अरु सामान पनि आए, तर त्यसको तुलनामा निर्यात भने हुन सकेन’, भन्सार अधिकृत जोशीले भने।
नेपालबाट खयरजन्य कच्चा पदार्थ, जस्तै कत्था, त्यसको कच्चा पदार्थ, खोटो र टर्पेन्टाइन मात्रै निर्यात हुने गरेको छ। ‘आयात र निर्यातको प्रतिशत हेर्न हो भने आयातको तुलनामा झन्डै २ प्रतिशत मात्रै निर्यात भएको देखिन्छ’, जोशीले भने।
नेपालबाट निर्यातको अवस्था चिन्ताजनक रहेको उनले बताए। ‘हाम्रो देशबाट निर्यातको अवस्था चिन्ताजनक छ। हरियो सागपात, हरियो धनिया त भारतबाट आयात हुन्छ’, भन्सार अधिकृत जोशीले भने। ‘व्यापार घाटा कम गर्न नेपालमा उत्पादन बढाउनुपर्छ।’
७ अर्ब १२ करोडको आयात हुने नाकाबाट १६ करोडको मात्रै निर्यात हुनु चिन्ताजनक विषय भएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार डाक्टर हेमराज पन्त बताउँछन्। ‘नेपालमा उत्पादनमुखी नीति नहुनु नै व्यापार घाटाको मुख्य कारण हो’, डाक्टर पन्तले भने। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले पनि आयात निर्यातको अवस्था सुदूरपश्चिमका लागि चिन्ताजनक रहेको बताए। ‘भारतबाट दैनिक तीन सय गाडीमा सामान आयात हुन्छ, तर फर्किने बेला ती गाडी रित्तै जान्छन्।
प्रतिक्रिया दिनुहोस !