मुस्ताङमा ७ महिनापछि सुरु भयो लामो दूरीको यातायात
जोमसोम : दुर्गम हिमालपारीको जिल्ला मुस्ताङमा झन्डै ७ महिनापछि लामो दूरीको यातायात बस सेवा सञ्चालनमा आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) कारण सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरेसँगै मुस्ताङबाट पोखरा-काठमाडौं र सुनौली, भैरहवालगायतमा छुट्ने लामो दूरीको यातायात सेवा ठप्प रहदै आएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले कोभिड-१९ को विद्यमान संक्रमण अवस्थालाई ध्यानमा राखेर असोज १ गते देखि हवाई तथा लामो दुरी चल्ने यातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै घोडाघोडी यातायात प्रालि तथा म्याग्दी/कोरला यातायात प्रालिको बस सोमबार मुस्ताङ आएको घोडाघोडी यातायात प्रालि मुस्ताङ शाखाकी प्रतिनिधि सुनदेवी रसाईली जानकारी दिइन् । मुस्ताङमा लामो दूरीको यातायात सञ्चालन गर्ने तयारी प्रालि कम्पनीहरुले गरेसँगै ३ दिन अघिनै मुस्ताङमा लामो दूरीको टिकट बुकिङ काउन्टर खुलेको थियो ।
घोडाघोडी यातायात प्रालिले लामो दूरीको यातायात सञ्चालन गर्न सरकारले तोकेको आवश्यक सुरक्षा मापदण्ड अनपनाएर सेवा प्रवाह गर्ने तैयारी थालेको घोडाघोडी यातायातकी मुस्ताङ प्रतिनिधि सुनदेवी रसाईलीले उल्लेख गरिन् ।
उनका अनुसार कम्पनीले बसका चालक /सहचालकलाई कोभिड-१९ रोकथामका चाहिने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । काठमाडौंबाट मुस्ताङ आउँदा र मुस्ताङबाट काठमाडौं जाने क्रममा फुल बडी डिसइन्फेक्सन गरी सञ्चालनमा ल्याएको छ ।
मुस्ताङ प्रतिनिधि रसाईलीले ३२ सिटे घोडा घोडी बसमा १४ सिटमा मात्र यात्रु राख्ने गरेको जानकारी दिइन् । सरकारले बसभित्र भौतिक दूरी कायम गर्नुपर्ने र त्यसका लागि ५० प्रतिशत भाडा वृद्धि गर्न पाउने प्रावधान अनुसार भाडादर ५० प्रतिशत वृद्धि भएको उनले बताइन् । उनका अनुसार काठमाडौ/मुस्ताङका लागि साविक भाडादर १७ सय ५० मा वृद्धि गरी २६ सय २५ रुपैयाँ कायम भएको छ ।
यस्तै,पोखराबाट मुस्ताङका लागि छुट्ने लामो दूरीको म्याग्दी-कोरला यातायात प्रालिले सोमबारदेखि यातायात बस सेवा सञ्चालनमा ल्याएको मुस्ताङ प्रतिनिधि पेमा छेतेन विकले जानकारी दिए ।
आसन्न बडादसैंको मुखमा मुस्ताङमा लामोदूरीका यातायात सेवा सञ्चालनमा आएपछि स्थानीय ,कर्मचारी ,शिक्षक ,जनप्रतिनिधि र सुरक्षा निकाय लगायतमा खुसी छाएको छ । बेनी-जोमसोम ७६ किमी सडकमा बाढी/पहिरो र नदी कटानका कारण लामो समय अवरुद्ध रहेको अवस्था र कोभिड-१९ का कारण सरकारी पास ,यातायात सेवा नहुँदा सर्वसाधारणलाई आउजाउमा समस्या पर्दै आइरहेको थियो ।
घोडाघोडी यातायातका बस चालक राजन पुरीले बेनी—जोमसोम अप्ठ्यारो र जोखिमयुक्त सडकमा सर्वसाधारण यात्रुको सुविधाका लागि बस सञ्चालनमा ल्याएको बताए । उनले बेनी-जोमसोम सडकमा ठाउँठाउँमा सडकको दूरअवस्था रहेकाले सम्बन्धित निकायले छिटो-छरितो स्तरोन्नति गरिदिनुपर्ने चालक पुरीको भनाइ छ ।