बाँसुरी नै जिन्दगी
काठमाडौं : बाँसुरीबारे अनेक भनाइ छन्। सबैभन्दा चर्चित भनाइ हो, ‘रोम जलिरहेको थियो तर नीरो बाँसुरी बजाइरहेका थिए।’ सन् ६४ को करिब दुई हजार वर्षपहिलेको यो घटना मनन् गर्दा बाँसुरी निकै पुरानो बाजा भएको पुष्टि हुन्छ।
रोममा त्यसबेला आगलागी भएर सहरको करिब ७० प्रतिशत संरचना ध्वस्त भएको थियो। त्यहाँका तात्कालीन शासक नीरोले त्यसबेला बाँसुरी वा अरू कुनै धुन बजाएर बसे या नबसेको कतै पनि प्रस्ट उल्लेख छैन। यसलाई सांकेतिक रूपमा लिइनुपर्ने विश्वका इतिहासकारको मत छ। मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा २०७६ माघ २१ गते बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाएपछि एकपटक फेरि बाँसुरी र सम्राट् नीरोको चर्चा भयो। त्यसो त द्वापरयुगमा भगवान् श्रीकृष्णले बाँसुरीको धुनले गोपिनीलाई लट्ठ बनाएको अनेक किस्सा छन्। इसाईहरूको बाइबलमा समेत बाँसुरीको चर्चा छ। मानव सृष्टिदेखि बाँसुरीको चर्चा भेटिन्छ। आखिर के छ त बाँसुरीको रहस्य ?
भारतका संगीतज्ञ हरिप्रसाद चौरसियाले बाँसुरीलाई विश्व बजारमा चिनाए। नेपालकै प्रेम औतारीले पनि अमेरिकालगायत धेरै देशमा बाँसुरीको धुनमा संगीतप्रेमीलाई लट्ठ बनाए। अहिले बाँसुरीको धुनको रहस्य खोतल्ने एक सम्पर्क सूत्र हुन् बाँसुरी गुरु जीवन आले। जनकपुर स्थायी घर भएका, हाल ग्वार्को बस्दै आएका जीवनको जीवन नै बाँसुरीलगायत शास्त्रीय संगीतको नयाँनयाँ धुन बनाउन बितिरहेको छ।
प्रेम मगराती, बुद्ध लामा, विजय दर्लामी, रवीन्द्र महर्जन, सरोज महर्जन, रत्न विक, धनबहादुर गुरुङलगायत अहिलेका चर्चित बाँसुरीवादक जीवन आलेकै चेला हुन्। उनका यी चेलाहरू बाँसुरी बजाउने मात्रै होइन, कतिपयले बनाएर बेच्ने काम पनि गर्छन्।
खासमा डिजाइनर रहेका आलेको संगीतमा मोह यसरी बस्यो कि उनी बाँसुरी जिन्दगीमै मस्त रहे। कोलकाता नजिकैको रायगञ्जमा गुरु मोहनप्रसाद जोशीसँग बाँसुरीलगायत शास्त्रीय संगीत सिके आलेले। बाँसुरीमा हात राख्ने पोजिसन, बसाइको तरिका, सुरताल थाहा नपाई बजाउनेलाई बिना सरजामको रिट्ठे झाँक्रीको उपमा दिन्छन् उनी।
बाँसुरीको इतिहासबारे आले सुनाउँछन्, ‘पहिले पहिले जनावरको सिंग, ढुंगामा एउटा एउटा प्वाल पारेर फुकिन्थ्यो। एकजना बटुवाले बाँसको झ्याङ्नेर बस्दा सुरिलो स्वर सुने। सुकेको बाँसबाट सुरिलो आवाज आएपछि काटेर लगे। अनि बाँसुरीको जन्म दिए। त्यसमा पनि पहिले एउटै प्वाल थियो। पछि दुईवटा, तीनवटा गर्दै ६ वटा प्वाल बनाइयो। अहिले शास्त्रीय त भइहाल्यो, त्यसबाहेक ज्याज, लोक, भजन जेमा पनि बाँसुरीको प्रयोग हुन थालेको छ।
भारतीय बाँसुरीवादक पन्नालाल घोषले शास्त्रीय संगीतमा बाँसुरीको स्वर खोजेर ढाँचा तयार गरेपछि बाँसुरी पनि स्केलअनुसार नै बन्न थालेको हो। घोषले नै स्केलअनुसारको बाँसुरी बनाउने गणितीय नियम बनाए। झापाका योगेन्द्र खड्काको काठमाडौंको काँडाघारीमा बाँसुरी कार्यशाला रहेको छ। उनले २५ थरीका बाँसुरी बनाउँछन्। हरेक बाँसुरीको आकार अरूसँग मिल्दैन। उनले १२ स्केलमा बेस १२, ट्रेबल १२ र एउटा अति तार सप्तकको सी–स्केल थपेर २५ पुर्याएका छन्।
जीवन आलेका एक चेला डम्बर खड्काथोकी (४४) को पनि बाँसुरी नै जिन्दगी भएको छ। प्यूठानको खलंगाका उनी कामको सिलसिलामा मलेसियादेखि दुबईसम्म पुगे। साथमा बाँसुरी भने छुटेन। उनको बाँसुरीवादन सुनेर गाह्रो काममा लगाएनछन्। बाँसुरी मेकरसमेत रहेका डम्बरले महिनामा करिब दुई सय बाँसुरी तयार पार्छन्। बाँसुरीका पारखी भन्छन्, ‘यसको स्वर स्थुल शरीरबाट आत्माको गहिराइलाई छुने खालको बजाउन नसकुन्जेलसम्म सिकिरहनुपर्छ।’
बाँसुरी गुरु जीवन आलेलाई विभिन्न कलेज, संगीत प्रतिष्ठानमा शास्त्रीय संगीत पढाएर चित्त बुझेन। त्यसैले पाटनढोकास्थित यलमाया केन्द्रसँगको सहकार्यमा हरेक महिनाको २ गते साँझ ५ बजे यलमाया क्लासिक म्युजिक शृंखलाको संयोजन गरिरहेका छन्। २०६३ साल वैशाखदेखि सुरु भएको यो शृंखलाले एक सय ७७ अंक पार गरेको छ।