घर बनाउने चिन्ता
सिन्धुपाल्चोक : बस्ती नै सखाप पार्ने गरी आएको पहिरोबाट जोगिएका जुगल गाउँपालिका–२, लिदीका आसमान दोङ अब सुरक्षित र स्थायी घर कसरी बनाउने भन्ने चिन्तामा छन्। सेलाङको बाँसखर्कमा टेन्ट हालेर अस्थायी सेल्टरमा बसेका आसमान चिसो बढ्दै गएपछि हिमाली डाँडामा टेन्टभित्र रात गुजार्न कठिन हुने भएकाले स्थायी बासस्थानको चिन्तामा परेका हुन्।
राहत वितरण र बस्ती निरीक्षणमा आएका नेताले पुनर्बासको आश्वासन दिए पनि सरकारले घर बनाइदिनेमा ढुक्क हुन नसकेका आसमान जग्गा पाए दुःखजिलो गरेर पनि हिउँदे सिरेटो चल्नुअघि नै छाप्रो बनाउन चाहन्छन्। ‘सरकारका ठूला नेताले नै सुरक्षित ठाउँमा राख्छौं भनेकाले घर बनाइदिन्छन् कि भन्ने आशाचाहिँ छ’, आसमान भन्छन्, ‘तर सरकारले घरचाहिँ अर्को वर्षातसम्म पनि बनाइदिने हो कि होइन ?’
बाँसखर्कमै सेल्टर लिएर बसेका निमाछिरिङ दोङ पहिरोबाट बाँचेकोमा अझै ढुक्क हुन सकेका छैनन्। तत्काललाई पहिरोले नभेट्ने ठाउँमा अस्थायी बास पाए पनि बाँच्नुपर्ने लामो जीवन अब कहाँ बिताउने भन्ने उनलाई चिन्ता छ। परिवारका आमा, श्रीमती र छोरी गुमाएका निमा आफू एक्लो भए पनि अबको बास कहाँ हुने हो भन्ने अन्योलले टेन्टभित्र निर्धक्क निदाउन नसकेको बताउँछन्। ‘पहिरोमा गुमाएका परिवारको सम्झनाले मुटु खाने त छँदैछ, भएको जग्गा र घर गुमाएका हाम्रा लागि अबको स्थायी बासस्थान कहाँ बनाउने भन्ने चिन्ताले पनि निद्रा हराउने गरेको छ’, निमाले भने, ‘पहिरोबाट विस्थापित भएका हामीलाई राहत बाँड्न आएका नेताले दिएको आश्वासनले हामीले केही दिनमा सुरक्षित बासस्थान पाउँछौं भन्नेमा ढुक्क हुन सकेका छैनौं।’
सरकारले घर बनाउन मात्र दुईचार आना जग्गा दिएर जीविकोपार्जन गर्न सम्भव नहुने भएकाले पनि सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण हुनेमा शंका भएको जिममाया दोङ बताउँछिन्। आफ्नो जग्गा भएको ठाउँमा फेरि पनि पहिरो जानसक्ने भएकाले अन्यत्र लाँदा खेतीपाती र घरपालुवा जनावरका लागि गोठको समेत व्यवस्थापन गर्नुपर्ने उनको माग छ। भूकम्पपछि पनि अन्यत्र जाँदा खेतीपाती र बस्तुभाउ पालनमा समस्या हुने भएकाले धाँजा फाटिएको ठाउँमै घर बनाउँदा यो विपत्ति व्यहोर्नु परेको भन्दै उनले अब पनि सबै कुरालाई ध्यान दिएर बस्ती सार्ने योजना बनाए मात्रै सम्भव हुने बताइन्।
लिदीका पहिरोपीडित मात्र हैन घुम्थाङको नागपुजेका ज्ञानलाल प्रधान पनि पहिरोले बस्ती उजाड बनाएपछि सुरक्षित स्थानमा स्थायी आवास निर्माण कसरी गर्ने भन्ने चिन्तामा छन्। सात वर्षअघिको जुरे पहिरो पीडितको पीडालाई नजिकबाट नियालेका प्रधान सरकारबाट केही हुन्छ भन्नेमा विश्वस्त छैनन्। ‘जुरे भन्दा समय परिवर्तन भएको र जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएकाले सरकारले पनि केही गर्छ कि भन्ने आशा थपिएको छ’, प्रधानले भने, ‘तैपनि सरकारकै मुख ताकेर बस्ने हो भने कति समय लाग्ने हो पत्तो छैन।’
गत असारयता जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले भूकम्पपछि पुनर्निर्माण भएका सात सयभन्दा बढी घर बगाएको छ। पहिरो आसपासका तीन सयभन्दा बढी घर जोखिममा छन्। पहिरो लागेर जोखिममा परेका क्षेत्रको बस्ती स्थानान्तरणका लागि आवश्यक पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। ‘पुनर्बासका लागि प्रक्रिया सुरु गरिसकिएको छ’, ढकालले भने, ‘असुरक्षित बस्ती स्थानान्तरण नै गर्नुपर्छ।’