कोरोनाले थला परेका पर्यटन व्यवसायी स्याउ व्यापारमा (फोटो फिचर)
जोमसोम : मुस्ताङमा दशै-तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा यतिखेर यहाँका कृषकले उत्पादन गरेका कृषि उपज पोखरा-काठमान्डौं लगायतका सहरमा बजारिकणका लागि निर्यात हुने क्रम सुरु भइसकेको छ। ल्लाको घरपझोङ ,थासाङ र वारागुङ मुक्तिक्षेत्रमा स्थानीयको बगैँचामा धमाधम बोटबाट स्याउ टिप्ने चटारो चलेको छ।
सरकारले हवाई तथा लामो दुरीको यातायात खुल्ला गरेसँगै मुस्ताङमा कोरोना भित्रिने होकी भन्ने चिन्ता मुस्ताङीलाई थपिएको छ। कोरोना माहामारीमा सकेसम्म जिल्ला बाहिरका मानिसहरु जिल्ला प्रवेश नहोस् र यहाँको उत्पादन स्थानीयलेनै बजारसम्म पूर्याउने उद्देश्य मुस्ताङीको छ। तर कोरोना कहरकै कारण यहाँ उत्पादित कृषि उपजको बजारिकण गर्नुपर्ने बाध्यता पनि छ।
मुस्ताङको घरपझोङ र थासाङमा स्थानीय तथा जिल्ला बाहिरका व्यापारीले धमाधम कृषकको स्याउ बगैँचाबाट खरिद गरी बजार पूर्याउने काम गरिरहेका छन्।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापा भित्रको ५ वटै वडाहरुमा स्थानीय कृषकले फलाएका स्याउ गैर जिल्लाका व्यापारीले नभई स्थानीयबाटै स्याउ खरिद गर्नुपर्ने मान्यतासहित यसपटक मुक्तिनाथका केही पर्यटन व्यवसायी स्याउको व्यापार व्यवसायमा लागिपरेको पाइएको छ।
कोरोना कहरकै कारण प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ रानीपौवामा लामो समयदेखि होटल व्यवसाय संञ्चालन गर्दै आइरहेका स्थानीय पर्यटन व्यवसायी सुरज गुरुङसहितको टोलीले वारागुङ मुक्तिक्षेत्रमा कृषकको बगैँचामै पुगेर स्याउ संकलन गर्ने कार्यमा जुटेको पाइएको हो। झन्डै ७ महिना लामो कोरोना कहर तथा लकडाउनले आयआर्जन विहिन बनेका मुक्तिनाथका पर्यटन व्यवसायीले समयको सदुपयोगसहित आन्तरिक स्याउ व्यापार कर्ममा लागेका हुन्।
पर्यटन व्यवसायी सुरज गरुङसहित ७ जनाको टोली स्याउ बजारिकण गर्न यतिखेर व्यस्त छन्। समूहका २ जनाले काठमाडौंमा स्याउ बिक्री गर्ने व्यवस्थापन खटेका छन् भने बाँकी टोलीले गापाको लुप्रा,कागबेनी,धाकार्जुङ ,खिङ्गा ,झोङ र छुसाङ लगायतका गाउमा स्याउ संकलन गरेका छन्। पर्यटन व्यवसायी सुरज गुरुङले कोरोना कहरका कारण यसपटक स्याउ संकलनकार्यमा जुटेको बताए।
जिल्ला बाहिरका व्यापारीले विगत वर्षहरुमा कृषकको उत्पादन न्युन मुल्यमा खरिद गरेको तर स्थानीयको तर्फबाट आफुहरुलेनै स्याउ संकलन गर्दा किसानले स्याउको सुहाउँदो मुल्य पाएको पर्यटन व्यवसायी सुरज गुरुङको भनाई छ। ‘कुनै पनि व्यक्ति र व्यवसायले यो गर्न हुने र त्यो गर्न नहुने भन्ने छैन ’ उनले भने‘ हिम्मत लगनशिलता भएमा जुनसुकै कर्म गर्न सकिन्छ। कोरोनाले थला परेका हामी जस्ता व्यवसायीलाई यसकार्यले पक्कै यसले राहत पूर्याउला।’
‘स्थानीय युवायुवतीलाई अल्पकालिन स्याउ टिप्ने रोजगारी दिएका छौं ,यसले गर्दा जिल्ला बाहिरका स्याउ टिप्ने मजदुर आउन पाएका छैनन्',उनले भने ‘स्याउ संकलनमा लाग्दा समयको सदुपयोगसँगै व्यवसायिक अनुभव पनि बढ्ने छ। अब बर्सेनि पर्यटनसँगै स्याउको व्यापारलाई पनि निरन्तरता दिने सोच छ।’
पर्यटन व्वसायी सुरज गुरुङले स्थानीयले नै स्याउ तथा कृषि उपजको व्यवसाय गर्दा जिल्लाको लगानी प्रतिफल जिल्लालाई नै आम्दानी हुने बताए। पर्यटन व्यवसायी गुरुङसहितको टोलीले १ सय ५० टन स्याउ संकलन गरी बजार पठाउने तयारी गरेको छ। उनले भने ,‘हामीले स्थानीय कृषक र क्लबहरु सँग सहकार्य गरेका छौं , हालसम्म १ सय टन स्याउ जम्मा भएको छ,जसमा ३ ट्रक स्याउ बजार पुगिसक्यो।
यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित छुसाङमा नरसिंह युवक्लवले स्याउ संकलनमा सहजीकरण गरेको छ। स्थानीय व्यवसायीलाई स्याउ बिक्री गर्न दिने किसानको बगैँचाको मुल्यमा एकरुपता कायम गर्न क्लबले समन्वय गरेको क्लवका पूर्वअध्यक्ष चन्द्र गुरुङले जानकारी दिए। उनले कोराना कहरले बेरोजगार जस्तै बनेका युवालाई स्याउ टिप्ने काम दिएको र यसले कोरोना जोखिम न्युनिकरण गर्न योगदान दिएको बताए। उनका अनुसार छुसाङमा करिब ३५ घरधुरीको स्याउ क्लबले संकलन गरी स्थानीय व्यवसायीलाई जिम्मा लगाउने काम भइरहेको उल्लेख गरे।