बर्दघाट नगरपालिकाको आफ्नै निशान छाप
परासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नै निशान छाप बनाएर प्रयोगमा ल्याएको छ। नगरपालिकाले लेटरप्याड र अन्य प्रयोजनमा नेपाल सरकारको छापसँगै आफ्नो छाप प्रयोगमा ल्याउने गरिएको छ।
नगरपालिकाकाको छुट्टै पहिचानका लागि आफ्नै निशान छाप बनाएर प्रयोगमा ल्याइएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताए। निशान छापमा नगर क्षेत्रमा रहेका धार्मिक, पर्यटन तथा भौगोलिक क्षेत्रको पहिचान समावेश गरिएको छ। ३ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा छुट्टै निशान छाप बनाएर प्रयोगमा ल्याउने यो पहिलो स्थानीय तह हो।
छापको बनावटमा पहेलो र सेतो गोलाकार घेराभित्रको दुईतर्फ धानका बाला छन्। लुम्बिनी प्रदेश बुद्धभूमि पनि रहेकाले शान्तिको प्रतिकका रुपमा पहेलो र सेतो रङ प्रयोग गरिएको नगर प्रमुख बस्यालले बताए। त्यसैगरी भौगोलिक रुपमा नगरपालिकामा रहेको चुरे पहाडलाई चिनाउने संसारकोट मन्दिर, समथर भूमि तराईलाई चिनाउने हरियो रङ र त्यसमाथि नेपालको झण्डा अंकित छ। छापको सबैभन्दा तल बुद्धकालीन तालका रुपमा रहेको बुद्ध मंगल ताल चिनाउने कमलको फूल राखिएको छ। निशान छाप स्थानीय कलाकार सुशिल न्यौपाने ‘सौरभ’ले बनाएका हुन्।