रामेछापमा सात स्वास्थ्यकर्मीसहित थप २० जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा रामेछापमा सात स्वास्थ्यकर्मीसहित थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले ५ महिला र १५ पुरुष गरी २० जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्ला अस्पतालमा कार्यरत चार जना पुरुष र तीन जना महिला गरी सात स्वास्थ्यकर्मी, रामेछाप नगरपालिकाका-६ का एक जना र वडा नं. ८ का पाँच जनामा संक्रमण पुष्टि हो।
यसैगरी मन्थली नगरपालिका-१ का पाँच जना, वडा नं. २ का दुई जना गरी सात जनामा कोरोना भाइरस पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये मालपोत कार्यालय, मन्थली नगरपालिका, राष्ट्रिय वाणिज्य बैंक मन्थली, र कृषि विकास बैंकका एक/एक जना कर्मचारी हुन्। उनीहरुको असोज १९ र २० अगाडि स्वाब संकलन गरेर पीसिआर विधिबाट परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल पठाइएको थियो।
जनस्वास्थ्य अधिकृत थापाअनुसार बिहीबारसम्म रामेछाप जिल्लामा १६८५ जनाको स्वाब संकलन गरिएको छ। जिल्लामा संकलन गरेर पठाइएको स्वाबमध्ये १४९० जनाको कोरोना नेगेटिभ आएको छ भने ९४ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ।
स्वास्थ्य कार्यालयको विवरणअनुसार योसँगै जिल्लाबाट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ हुनेको संख्या १०१ र जिल्ला बाहिर १०५ जनामा संक्रमण भएको छ। तर स्वास्थ्य मन्त्रालयले रामेछापका १६० पुरुष र ५२ महिलामा गरी २१२ जनामा कोरोना देखिएको जनाएको छ।
मालपोत कार्यालयको सेवा बन्द
कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय रामेछाप शुक्रबारबाट असोज २९ गतेसम्म बन्द हुने भएको छ। आज एक सूचना जारी गर्दै आन्तरिक प्रशासनिक कार्यबाहेक सबै सेवा बन्द गरिएको छ। कार्यालयमा सेवाग्राहीको चाप बढी हुने र संक्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले सेवा बन्द गरिएको सूचनामा उल्लेख छ।