जाजरकोट जीप दुघर्टना : बेपत्ता एक जनाको शव भेटियो, मृतकको संख्या सात पुग्यो
जाजरकोट : जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।
छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको शव फेला परेको हो। यो सँगै मृतकको संख्या सात पुगेको छ। चालक गोरख बस्नेतको अवस्था अज्ञात छ।
जाजरकोट सदरमुकाम खलंगाबाट बुधबार जुनीचाँदे तर्फ गइरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका १ औलभीरमा दुघर्टनामा परेको थियो।
बिहीबार अवेरसम्म शव आफन्त र स्थानीयले बुझ्न मानेका छैनन्। चालकको लापरवाही, घटनाबारे छानबिन गरेर दोषीलाई कारवाही गर्नु पर्ने भन्दै घटना भएको एक दिन बितिसक्दा पनि मृतकको शव आफन्तले बुझेका छैनन्।
हचुवाको भरमा बाटो बनाएको र त्यही बाटोमा गाडी चलाउने गरिएको भन्दै स्थानीय सरकार प्रति पीडित पक्ष आक्रोशित छन्।
आक्रोशित स्थानीयले बिहीबार चालक गोरख बस्नेतको जुनीचाँदे ५ मटेलास्थित घर र छेडागाड ६ सुवानाउलीस्थित घुम्ती पसलमा आगजनी गरिदिएका छन्। प्रहरीले पीडित पक्षसँग शव बुझ्न गरेको आग्रह र वार्ता असफल भएको छ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र जनप्रनिधिको रोहबरमा मात्र वार्तामा बस्ने अडान लिएका छन्। अहिले पनि पीडित पक्षले तर्फबाट पाँच सय बढी स्थानीयले ढुङ्गामुढा र नाराबाजी गरिरहेका छन्।
आक्रोशित मृतकका आफन्त र स्थानीयले घटना लगत्तै ढुङ्गामुढा गर्न थालेका थिए। उनीहरुले जनप्रनिधि र प्रहरी प्रति लक्षित गरि ढुङ्गामुढा गरेका थिए। बडाबन र पञ्चाला इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीलाई स्थानियको आक्रोश रोक्न नसकेपछि जिल्ला सदरमुकाम खलंगाबाट शसस्त्र प्रहरी र नेपाल प्रहरीको थप फोर्स बुधवार नै पठाईएको थियो।
सडकको ग्रेड नमिलेको, थोत्रा गाडी संचालन गर्ने गरिएको र चालकको लापरवाहीले दुघर्टना भएको भन्दै स्थानीय आक्रोशित भएको स्थानीय रेशम खड्काले बताए। घटना लगत्तत्तै घटनास्थल पुगेकी जुनीचाँदे गाँउपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्य लगायतका जनप्रतिनिधीलाई ढुङ्गामुढा गरेपछि अहिले घटनास्थलको सुरक्षा प्रहरी र शसस्त्र प्रहरीले गरिरहेको छ। जनप्रतिनिधि कोही छैनन्।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी भष्टाचार मुद्दामा निलम्बनमा छन्। घटनास्थल तनावग्रस्त भएपछि वार्ता गर्न र शव बुझाउन सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारी चेतराज बराल, जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठ लगायतका सुरक्षा अधिकारी घटनास्थल पुगेर छन्। तर पिडित पक्षले अझै शव बुझ्न नमानेको स्थानिय रेशम खड्काले बताए।