जाजरकोटमा कोरोना खर्च साढे ६ करोड
जाजरकोट : कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि जाजरकोटका सात स्थानीय तहले असार मसान्तसम्म साढे ६ करोड रुपैयाँ खर्च गरेका छन् । चैतदेखि असारसम्म क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य सामग्री खरिद र राहत वितरणमा स्थानीय सरकारले ६ करोड ६८ लाख ६६ हजार दुई सय ६६ रुपैयाँ खर्च गरेका हुन् ।
कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका नाममा छेडागाड नगरपालिकाले दुई करोड २५ लाख ७२ हजार चारसय ९५ रुपैयाँ, भेरी नगरपालिकाले एक करोड ४४ लाख ८७ हजार ६ सय ९८ रुपैयाँ र नलगाड नगरपालिकाले ५८ लाख १ सय ७३ रुपैयाँ खर्च गरेका हुन् । त्यस्तै शिवालय गाँउपालिकाले ७० लाख, बारेकोट गाउँपालिकाले ७५ लाख ६० हजार ९ सय, जुनीचाँदे गाउँपालिकाले ५४ लाख ४५ हजार र कुसे गाउँपालिकाले ४० लाख खर्च गरेका छन् ।
जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा कार्यक्रममा पालिकाले उक्त खर्च विवरण पेस गरेका हुन् । जाजरकोटका सातवटै पालिकाले जथाभावी बजेट खर्च गरेको भन्दै स्थानीयले खर्च विवरण पारदर्शी तरिकाले सार्वजनिक गर्न माग गरेका छन् । स्थानीय सरकारले कोरोना भाइरसको नाममा अव्यवस्थितरूपमा ठूलो मात्रामा रकम खर्च गरेको पाइएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
‘कोरोना महामारी नियन्त्रण तथा रोकथामको नाममा फजुल खर्च गरिएको, केही सामग्रीको मूल्य तथा परिणामसमेत बढी राखेको पाइएको छ’, नागरिक अगुवा शाहले भने ‘जनप्रतिनिधिसँगको मिलेमतोमा केही कर्मचारीका लागि महामारी कमाउने माध्यम भएको छ ।’